दाङ २२ जेठ । नेकपा माओवादी केन्द्र गढवाले चुनाव प्रचार तीब्र बनाएको छ । दैनिक घरदैलो र भेटघाटसहित चुनावी प्रचार तीब्र बनाएको माओवादी केन्द्र चुनाव परिचालन समिति गढवाका संयोजक यामनारायण पोखे्रेल ‘विश्वास’ले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले गढवाको अध्यक्षमा पोलिटब्यूरो सदस्य लुमाकान्त न्यौपाने ‘सागर’ र उपाध्यक्षमा रमाकुमारी चौधरीलाई अघि सारेको छ । त्यस्तै माओवादी केन्द्रले वडा नम्बर १ को अध्यक्षमा पुरण यादव, २ मा भक्तु चौधरी, ३ मा तुलसीराम अधिकारी, ४ मा कैलाश चौधरी, ५ मा प्रकाश भण्डारी, छ मा विरवहादुर आले, ७ मा ज्ञानबहादुर परियार र ८ मा वडा अध्यक्ष सद्धाम सिद्दीकीकीलाई अघि सारेको छ ।

जिल्लाको राम्रो संभावना बोकेको बजार गढवादेखि जिल्लाको पूर्वी नाका कालाकाटे र पुरानो भन्सार रहेको नाका कोइलाबास यी गाउँपालिकामा रहेकाले मतदाताहरुले यहाँको विकास निर्माणमा बढी जोड दिने गरेको संयोजक पोख्रेलले जानकारी दिनुभयो । चुनाव प्रचारका क्रममा लमही–कोइलाबास सडक, कोइलाबास भन्सार सञ्चालन, कालाकाटेहुँदै बाँके जोड्नै दक्षिणी राजमार्ग, राप्ती नदीमा तटबन्धलगायतका विकासका एजेण्डा यहाँका मतदाताको माग रहेको उहाँले जानकारी दिनुभयो ।

जनताका आवश्यक मागलाई सूचीबद्ध गरेर चुनाव जितेपछि गर्न सकिने काममको प्रतिबद्धतापत्रसहित चुनाव प्रचार अघि बढाएको अध्यक्ष पदका उम्मेदवार न्यौपानेले जानकारी दिनुभयो । आफू दुई दशकदेखि दाङको राजनीतिमा क्रियाशील रहेको, शान्ति समिति संयोजकलगायत जिल्लास्तरीय सरकारी कामकाजसँग जोडिएकाले गढवाको विकासमा आफ्नो पूरै ध्यानकेन्द्रित भएको पनि उहाँले बताउनुभयो ।