काठमाडौं, १९ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले भरतपुरमा देखिएको विवादका सम्बन्धमा निर्वाचन आयोगले गर्ने निर्णय मान्न सरकार तयार रहेको बताउनुभएको छ ।
बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयोग आँफैमा संवैधानिक अंग हो, संवैधानिक आयोगले गर्ने निर्णय सरकारको लागि स्वीकार्य, सरकारले कुनै हस्तक्षेप वा नमान्ने भन्ने कुरै हुँदैन’
भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको उहाँको भनाई थियो । निर्वाचन आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगको विषयलाई लिएर एमालेले संसद अवरुद्ध पारेर संसदीय व्यवस्थाको खिल्ली उडाएको बताउनुभयो ।
‘एमालेले पहिलेदेखि नै भ्रमको खेती गरिरहेको छ, निर्वाचनको मुखमा पनि निर्वाचन हुँदै हुँदैन भन्ने भ्रम फैलायो, अहिले दोस्रो चरणको निर्वाचनको विषयमा पनि उस्तै भ्रम छरिररहेको छ’ उहाँले भन्नुभयो, ‘भरतपुरको विषयलाई लिएर एमालेबाट जसरी संसद अवरुद्ध पार्ने काम भयो, यसले संसदीय व्यवस्थाको खिल्ली उडाउने काम भयो’
मन्त्री नायकले भरतपुर महानगरपालिकामा माओवादी नेतृ रेणु दाहाललाई हराएर एमालेले प्रचण्डको राजनीति धमिलो बनाउने सपना देखेको समेत टिप्पणी गर्नुभयो । भरतपुरमा रेणु दाहाललाई हराएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै परास्त गर्न सकिन्छ भन्ने दिवासपना एमालेजनले देखेको उहाँको भनाई थियो ।
उहाँले प्रधानमन्त्री प्रचण्डको लागि कसैले हार्नु वा जित्नुले महत्व नराख्ने बताउनुहुँँदै अघि भन्नुभयो, ‘व्यक्तिले हार्नु वा जित्नुले उहाँलाई कुनै महत्व राख्दैन, किनकी माओवादीको एजेण्डाले जितेको छ, देशले जितेको छ’