shusil kshetriसुशील खड्का क्षेत्री
अध्यक्षका उम्मेदवार, नेकपा माओवादी केन्द्र बबई गाउँपालिका

बबई गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?

सिंहदरबारको अधिकार गाउँमा लैजानुपर्छ भन्ने एजेण्डा माओवादीको हो । हामीले अब गाउँमै जनताको सरकार बनाउन गइरहेका छौं । म बबई गाउँपालिकाको अध्यक्ष भएर यस क्षेत्रको विकासका लागि स्पष्ट योजना बनाएको छु । हामीले समग्र स्थानीय, स्रोत साधन र श्रमको प्रयोग गरेर गाउँपालिकाको विकास गर्ने छौं ।

बबई गाउँपालिकामा प्रशस्त जल, जमिन, जनशक्ति र जडिबुटी रहेको छ । यसको सदुपयोग गर्न सकेमा मात्रै पनि हामी अन्य पालिकाहरुको तुलनामा तीव्र आर्थिक विकास गर्न सक्छौं । स्थानीय स्रोत र सीपको प्रवद्र्धन गरेर बबई गाउँपालिकालाई मुलुककै नमुना गाउँपालिका बनाउनका लागि मेरो उम्मेदवारी हो ।

गरिबी र अशिक्षाका कारण अहिले बबई गाउँपालिका निकै पछि परेको जस्तो देखिन्छ । अब यस्तो हुने छैन । यी कुरा हटाउनको लागि मैले विगतदेखि पहल गरिरहेको छु । त्यतिबेला म पहलकर्ता मात्र थिएँ, अब कार्यकारी पदमा पुगेर काम गर्ने बेला आएको महशुस गरेर मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।

अध्यक्ष पदका अन्य उम्मेदवारलाई मत नदिएर तपाईलाई नै दिनुपर्ने कारण के छ ?

सुशील क्षेत्री जनताको सेवाका लागि घर परिवारको कुनै पर्वाह नगरेर राजनीतिमा आएको व्यक्ति हो । अन्य व्यक्तिहरु राजनीतिमा आएर धन सम्पत्ति कमाएको सुनिन्छ । तर, मैले राजनीतिमा आएर धेरै चिज गुमाएको छु । राजनीति र समाजसेवा गर्दागर्दै मैले राम्रो दुई तले घर बिक्री गरेर अहिले मसानघाट जस्तो ठाउँमा सानो झुपडी बनाउनु परेको छ ।

मैले बबई गाउँपालिकाको विकासका लागि विगतदेखि आवाज उठाउँदै आएको छु । यहाँको विकासका लागि मसँग स्पष्ट योजना रहेको छ । मैले पछाडि पारिएका वर्गको अधिकारका लागि आवाज उठाउँदै आएको छु । मलाई यहाँका जनताको समस्याको बारेमा सबै कुरा थाहा छ । त्यसले पनि मैले यहाँको विकासमा राम्रो काम गर्न सक्छु ।

बबई गाउँपालिकाको समस्या के देख्नुहुन्छ ?

जिल्ला सदरमुकामभन्दा बबई गाउँपालिका अहिले करिब ५० किलोमिटर टाढा छ । सधैंभरि जिल्लाको दृष्टिकोण पुग्दैन । एकात्मक केन्द्रीकृत राज्यसत्ताका कारण ग्रामीण भेगको विकास हुन सकेन भनेर माओवादीले एजेण्डा अगाडि बढाएको हो । अहिले यहाँको स्रोत साधनको उचित प्रयोग हुन सकेको छैन । विकासका योजनाहरु बबईमा पुग्न सकेका छैनन् । अहिले पनि अशिक्षा र बेरोजगारीका कारण बबई गाउँपालिका पछाडि पारिएको छ । यहाँको युवा शक्ति विदेश पलायन भएको छ । अहिले गाउँमा आधुनिक कृषि उत्पादन हुन सकेको छैन । परम्परागत रुपमा खेतीपाती भइरहेको छ ।

अब बबई गाउँपालिकाको लागि सबैभन्दा पहिले दीर्घकालीन गुरुयोजना बनाउनुपर्छ । अब हामीले केन्द्रको मुख ताकेर विकास गर्न सक्दैनौं । स्थानीय तहमा नै बजेटको व्यवस्था गर्नुपर्छ । गाउँपालिकाको विकासका लागि सबै राजनीतिक दलहरु एक हुनुपर्छ । विकास सबैको साझा एजेण्डा बन्नुपर्छ ।

प्रस्तुती/पाण्डव शर्मा