रितु खनाल
ए चकमन्न अन्धकार रात!
तेरा अन्धकार भित्र रुमल्लिएकाहरु
मस्त हुँदै घुर्दै होलान्
उज्यालो सपनाको भुलभुलैयामा रमाउँदै
तर मलाई तँसँग अनेकौँ गुनासाहरु छन् ।।
प….र भित्ताको घरमा
लाल्टिनको उज्यालो चम्किरहेछ
लाग्छ अँधेरी रातमा तँसँगै
एउटा तारा सापटी लिएर चम्की रहेछ त्यो लाल्टिन
तर बिहान आफ्नै आँशुले आफैलाई निभाएर
आकाश भित्रै बिलिन हुने ताराको उज्यालोले
दिनमा प्रकाश दिन नसक्ने भएरै
लाल्टिन पनि निभेका हुन् सायद
त्यसैले त ए रात !
तेरा भ्रम भित्र रमाउनेहरु
रातको अन्धकारमा देखिएका
उज्याला सपनामा हराएकाछन्
तर ती निर्जीव लाल्टिन झैँ अधुरो छ्न्
न अनन्त बल्न सक्छ न निभ्न सक्छ
सँधै धिपधिपाउने आदत परेको छ ।
जिन्दगीका कैयौं अधुरा चाहनालाई सँगालेर
विश्वकै सुन्दर महल निर्माण गरेर
हरेक पटक
देखाउँछस् तँ आफ्नो कलाकारिता
तर मैले त्यस महल पूर्णरुपले
स्पर्श गर्न नपाउँदै
बोलाउँछस् प्रकोप बोकेको उज्यालो दिन
र तहस नहस् पार्छस्
मेरा अधुरा चाहनाले ठड्याएको महल
त्यसैले त मलाई तँसँग गुनासो छ ।।
हो रात मलाई तँसँग गुनासो छ
वास्तवीक संसारलाई अन्धकार पारेर
सपनाको सुन्दर संसारमा ज्योती छर्दा
जब मेरा पाइला त्यतै लम्कन्छन्
आशा र खुसीका दिप धप् धप् बाल्दै गर्दा
नमिठो प्रहार गरिदिन्छस्
मिर्मिरेमा शीतको वर्षा गराएर ।।
ए रात!
मलाई निष्पट्ट अन्धेरोमा
उज्याला मधुमासको प्यालासँग मीत लगाइदिन्छस्
उनको र मेरो सानिध्यको मीठो प्रहर बोकेर आउने
मेरा सपनाको शहरमा उनी र म रुमल्लिएको
डाह किन गर्छस् ?
र मेरो स्वपनिल शहरबाट बसाइसराइको पत्र थमाएर
बिहानीको शीतसँगै मलाई बिदाइ गर्छस्
मिठा सपनालाई अधुरो पारेर जान बाध्य गराउँछस्
त्यसैले त मलाई तँसँग गुनासो छ ।।
लाखौं चम्किला ताराहरुसँग खेल्दै थिएँ
लतारेर छुट्टाइस् मलाई
जूनको सितलतामा रम्दै थिएँ
नकाव लागाइदिइस् मलाई
अफ्नो मौनताको शहर पसाएर
मिठाईका बिस्कुन सुकाउन लगाइस्
म त्यहि बिस्कुनमा घोलिएँ
हो मिठो आनन्द प्राप्त गरेँ मैले त्यहाँ
रुमलिएँ त्यहि सन्नाटाको शहर भित्र
मेरा रहरहरु उब्जिएर फुल्दै फक्रिँदै
सुवास छर्न थालेकै त थिए
तलाई म उपर के शंका थियो र
फेरि गलहात्याइदिइस् उही दुखी सन्सारमा ?
किन मलाई बिउझाइदिइस्?
के मिठा सपनामा रमाउनु मेरो गल्ती थियो र?
ए रात तँ सङ मेरो गुनासो छ ।।
त्यसैले त
हरेक प्रहर
मिठा सपना बोकी आउने
ए रात !
शीत हरुले काचुली फेर्न थाल्दा
जुरमुराउनु कर लागाउँछस् मलाई
र फेरी
मेरा मिठा सपनाहरुको किन चिहान परिदिन्छस् ?
गुनासो छ मलाई तँसँग ।।
