सविता पौडेल
नर्स र नर्सिङ भन्नासाथ हामीले फ्लोरेन्स नाइटिङ्गेललाई सम्झनै पर्छ। जसले आज नर्सलाई संसारभरि नै चिनाएकी छिन्। फ्लोरेन्स नाइटिङ्गेलको जन्म इटालीको फ्लोरेन्स भन्ने ठाउँमा एउटा पढेलेखेको परिवारमा सन् १८२० मे १२ का दिन भएको थियो। सानैदेखि उनलाई राम्रो शिक्षा दिइएकोे थियो। जुन सामान्य भिक्टोरिया परिवारका छोरीहरुले पाउँदैन थिए।
उनी २४ वर्षको हुँदा उनलाई अस्पतालमा काम गर्ने इच्छा थियो, तर उनको परिवारले अनुमति दिएन। त्यति बेला अस्पतालको अवस्था र नर्सको अवस्था राम्रो थिएन। तर पनि यी सबै अप्ठ्यारालाई वास्ता नगरी फ्लोरेन्सले विभिन्न अस्पतालको भ्रमण गरिन्। पछि अभिभावकको सल्लाह अनुसार उनले जर्मनका नर्स र शिक्षिकाहरुका लागि भएको ‘कैसरवर्थ’ तालिम स्कुलमा केही महिना बिताइन्। लन्डनको ‘च्यारिटी सपोर्टेट इस्टिच्युसन’मा सुपरिटेन्डेन्ट भएर काम गरिन्।
उनले क्रिमेन युद्धका बेला (सन् १८५३—५६) घाइते सिपाहीहरुप्रति गरेको व्यवहार आज नर्सका लागि गर्व गर्ने इतिहास बनेको छ। क्रिमेन युद्धमा घाइते भएका सिपाहीहरुको संख्या बढेको बढ्यै थियो। उपचार गर्ने सामानहरुको कमी थियो, शुद्ध खानेपानी र फोहोर व्यवस्थापन थिएन।
त्यसमाथि ‘मिलिटरी डाक्टर’हरुको नर्सप्रतिको व्यवहार राम्रो थिएन। यस्तो विषम अवस्थासँग जुध्दै फ्लोरेन्सले अस्पतालको अवस्थामा सुधार ल्याइन्। उनले सरसफाइ, फोहोर व्यवस्थापन, शारीरिक सफाइ, हात धुने बानी, बिरामीको खाना, खाना पकाउने ठाउँ सफा र स्वस्थ हुनुपर्छ भन्ने कुराको पैरवी गरिन्। यिनै कुराहरु सुधार गर्न अहोरात्र खटिन्। फ्लोरेन्सको यो अभियानले मृत्यु हुने बिरामीको संख्यामा कमी आयो।
उनी रातभरि एउटा टुकी बालेर बिरामीको सेवामा पुग्थिन्। उनीहरुका समस्या बुझ्थिन्। त्यसैले उनलाई ‘लेडी विद द ल्याम्प’ (बत्ती लिएकी केटी) भनेर उपनाम दिइयो।
फ्लोरेन्सले नर्सका रुपमा बिरामीको सेवामा पुर्याएको योगदानको कदर बिस्तारै हुन थाल्यो। उनलाई विभिन्न पुरस्कारहरु प्राप्त भए। उनले ब्रिटिस सरकारबाट पुरस्कार पाएको पैसाले सेन्ट थोमस अस्पतालमा नर्सको तालिमका लागि स्कुल खोलिन्। जुन अहिले पनि मुनाफारहित चलिरहेको छ।
फ्लोरेन्स पहिलो नर्स हुन् जसले ‘नर्सिङ थ्यौरी’ बनाइन्। त्यसको नाम थियो, ‘इन्भायरोमेन्टल थ्यौरी’। उनी नर्ससँगसँगै राम्रो लेखिका र अनुसन्धानकर्ता पनि हुन्। उनले क्रिमेन युद्धमा घाइते भएका सैनिकहरुको उपचार गर्दा स्वास्थ्यलाई असर पार्ने के–के कुरा थिए र ब्रिटिस आर्मीको अस्पताल प्रशासन कस्तो हुनुपर्छ भन्ने बारे गहन रिपोर्ट पनि तयार पारेकी थिइन्। जुन सन् १८५८ मा प्रकाशित भएको थियो। सामुदायिक अस्पताल कसरी चलाउने भन्नेबारे उनले सन् १८५९ अनुसन्धानात्मक लेख लेखेकी थिइन्।
फ्लोरेन्स नाइटिङ्गेलले बिरामीप्रतिको देखाएको व्यवहार, बिरामी र पेशाप्रतिको लगाव र नर्सिङ पेसालाई मर्यादित बनाउन गरेका प्रयासहरुबाट आजका नर्सले धेरै कुरा सिक्न सक्छन्। नर्सले बिरामीको शारीरिक पीडा मात्रै होइन, अन्य धेरै पक्ष बुझ्ने कोसिस गर्नु पर्छ भन्ने कुरा उनले गरेका कामबाट सिक्न सकिन्छ। बिरामीको कुरा बुझ्नका लागि बिरामीको नजिक पुग्नुपर्छ, उनीहरुसँग कुरा गर्नुपर्छ र बिरामी र उनका आफन्तसँग नम्र व्यवहार गर्नुपर्छ जसले गर्दा बिरामीले आफ्नो समस्या नर्सहरुसँग सजिलै भन्न सक्छन्।
फ्लोरेन्सको जन्म मे १२ मा भएको हुनाले संसारभरि यही दिनलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रुपमा मनाउँदै आइएको छ। जसरी फ्लोरेन्सले जीवनको अन्तिम समयसम्म पेशाप्रति र बिरामीप्रति उत्तरदायी भएर काम गरिन् त्यसरी नै हामी आज र भोलिका नर्सले यसबाट सिक्न सक्नुपर्छ। आजको दिनले तमाम नर्सहरुलाई आफ्नो पेसा र बिरामीप्रति सधैँ उत्तरदायी बन्न प्रेरणा मिलोस्। अन्तर्राष्ट्रिय नर्स दिवसको सबैलाई शुभकामना। स्वास्थ्य खबर डटकमबाट
