काठमाडौँ, १७ वैशाख । संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले शनिबार राजधानीमा नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चद्वारा प्रकाशित मञ्चको वार्षिक प्रकाशन ‘भोजपुर स्मारिका’ विमोचन गरे । विमोचनपछि मन्तव्य व्यक्त गर्दै नेम्बाङले भोजपुर प्रकृति, संस्कृति र राजनीतिका साथै साहित्य र कलाका क्षेत्रमा पनि प्रसिद्ध रहेको बताउँदै भोजपुरप्रति आफ्नो विशेष सम्बन्ध रहेको सुनाए । नेम्बाङले उक्त अवसरमा देशमा सरकार छ भन्ने कुनै आभाससमेत नरहेको उल्लेख गर्दै निर्वाचनदेखि एमालेबाहेकका सबै दलहरू तर्सेको बताए ।

smarka bimochanकार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा, सांसद जयन्ती राई, एक नम्बर प्रदेश सम्पर्क समितिका सह–संयोजक नन्दकुमार राई लगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा सांसद तारादेवी राई, भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा. महेशराज दाहाललगायतको उपस्थिति रहेको थियो ।

मञ्चका अध्यक्ष रेजिन श्रेष्ठका अनुसार वार्षिक रूपमा ‘भोजपुर स्मारिका’ प्रकाशन हुने गरेको छ । स्मारिकाको सल्लाहकार सम्पादकमा प्राज्ञ शशी लुमुम्बू रहेका छन् भने सम्पादकमा रेजिन श्रेष्ठ रहेका छन् । जिल्ला, नगर र गाउँपालिका परिचयका साथै विचार, दर्शन, साहित्य, कला र संस्कृति विधाका लेख÷रचनाहरू स्मारिकामा समेटिएका छन् ।