दाङ, ६ बैशाख । प्रेस सेन्टर नेपाल दाङ शाखाको आयोजनामा तीन दिने विकास पत्रकारिता तालिम बुधबारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत व्यवस्थापिका संसद सदस्य रेखा शर्माको संसद कोषको सहयोगमा पत्रकारिता तालिम सञ्चालन गरिएको हो ।
सेन्टर दाङ शाखाका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको तालिमको उद्घाटन संगठनका केन्द्रीय सदस्य नरेन्द्र केसीले मैनबत्ती बालेर गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै केसीले अबको पत्रकारिता देशको समृद्धि र विकाससँग जोडिएको बताउनुभयो । लामो समयदेखि नेपाली पत्रकारिता राजनीतिकेन्द्रीत भएको भन्दै उहाँले समयको मागसँगै अब समग्र देश विकासको एजेण्डा छोडेर पत्रकारिता अगाडि बढ्न नसक्ने बताउनुभयो ।
नयाँ संविधान कार्यान्वयनसँगै देशकै पुनर्संरचना भइरहेको भन्दै प्रमुख अतिथि केसीले अब बन्ने गाउँपालिका र नगरपालिकाहरु अधिकारसम्पन्न हुने र देश विकासको नयाँ चरणमा प्रवेश गर्ने बताउनुभयो । नागरिक पत्रकारिता जबर्जस्त अगाडि आइसकेको भन्दै उहाँले अबका पत्रकारहरु समयसापेक्ष प्रविधिमैत्री एवं सक्षम हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भुपेन्द्र वलीले तालिमले पत्रकारहरुलाई विकास निर्माणका सम्भावना, चुनौती र विकृतिहरु बाहिर ल्याउन थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तीन दिनसम्म चल्ने तालिममा पत्रकारितातर्फ चासो राख्ने जिल्लाका चार दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिममा आधारभूत तथा विकास पत्रकारिता, समाचार तथा फिचर लेखन, जिल्लाको विकास निर्माणमा पत्रकारिताको योगदान, सामाजिक सञ्जाल र अनलाइन पत्रकारिता, विकास पत्रकारिताको अवधारणा लगायतका विषयमा प्रशिक्षण दिइने तालिम संयोजक तथा सेन्टरका सहसचिव जनक नेपालीले बताउनुभयो । तालिममा अजयदीप शर्मा, सुशील गौतम, नरेन्द्र केसी, गणेश ओली, डिल्ली मल्ललगायतले प्रशिक्षण दिने नेपालीले जानकारी दिनुभयो ।