महोत्तरी, ३० चैत । दश वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक ७२ वर्षका वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ ।

Rape-जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार पिपरा गाउँपालिकाका ती वृद्धले स्थानीय १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो ।

स्थानीय बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत ती छात्रा स्कुल सकेपछि घर गइरहेका बेला गएको चैत १७ गतेका दिन आरोपितले बालिकालाई उनको घरभित्र लगेर बलात्कार गरेको आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपीमाथि मुद्दा दर्ता गरेको छ भने फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी प्रमुख परिचालन गरिएको पोखरेलले बताउनुभयो । रासस