काठमाडौँ २२ चैत । आज चैते दशैँ । हिन्दु धर्ममान्नेहरुले शक्तिस्वरूपा देवी भगवतीको पूजाअर्चना गरी देशभर मनाइदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने परम्परा छ ।
दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा शक्तिरूपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ । उपत्यकाका शक्तिपीठ गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा देवीभागवत, कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ ।
त्यस्तै आज उपत्यका बाहिर वाग्लुङको बाग्लुङ कालिकामा बिशेष मेला लाग्ने गरेको छ भने गुल्मीको छत्रकोट देवालयमा पनि बिशेष पुजाआज गर्ने गरिएको छ । चैते दशैँमा घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।
शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ । चैत दशैंको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख भए अनुसार जनविश्वास रहीआएको छ ।











