काठमाडौं, २१ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बैशाख ३१ गते सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
शिंहदरवारमा मधेशी जातीय समन्वय समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले अहिले सिंगो देश निर्वाचनमा जुटिसकेको बताउँदै मधेशी मोर्चासँग समेत सहमति बनाएर चुनाव गर्ने प्रयासमा आफू निरन्तर लागि रहेको स्पष्ट पारे। उनले संविधान संशोधन प्रस्ताववारे आज भोली नै टुंग्याउने गरी आफूले पहल गरिरहेको बताउँदै देशलाई अतिवादमा जान नदिन परिवर्तनकारीहरु मिल्नुको बिकल्प नभएको बताउनु भयो ।
प्रधानमन्त्रीले संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाउँदै प्रमुख प्रतिपक्षसँग समेत छलफल गरेर सहमति बनाउने प्रयास भइरहेको बताए ।
मधेशी जातीय समन्वय समाजको तर्फवाट संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।