काठमाडौ १९ चैत । स्थानीय तह निर्वाचनका लागि चीनबाट ल्याउन लागिएको १० हजार थान मतपेटिका रसुवागढी–केरुङ नाकामा आइपुगेको छ । ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका चीनबाट ल्याउन लागिएको छ ।त्यसमध्ये पहिलो चरणमा बिहीबार नै १० हजार थान मतपेटिका रसुवाको केरुङ नाका आइपुगेको निर्वाचन आयोगले जनाएको छ ।
अपुग रहेको मतपेटिका चीनबाट ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिकामध्ये १० हजार थानको भन्सार व्यस्थापनको काम अघि बढिरहेको शर्माले बताए । ‘हामीलाई केरुङ नाकामा १० हजार थान मतपेटिका आइपुगेको भन्ने सूचना आएको छ, त्यसको जाँचपास र छुटका लागि हामीले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेका छौं,’ प्रवक्ता शर्माले भने ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका ल्याउन टेन्डर आह्वान गरेको थियो ।एनआईटी नामक कम्पनीले १० करोड ७९ लाख रुपैयाँमा टेन्डर सकारेको थियो । राजधानीमा खबर छ । बाँकी २० हजार थान मतपेटिका पनि चीनबाट ल्याउने क्रममा रहेको र आकार ठूलो भएका कारण एकै पटक आउन नसकेको हुन सक्ने प्रवक्ता शर्माले बताए ।