नेपाल पर्यटन पत्रकार संघ दाङ शाखाले आगामी बैशाखको पहिलो सातामा स्थानीय तहमा पर्यटन नीति तथा कार्यक्रमको विषयमा वृहत सम्वाद कार्यक्रमको आयोजना गर्ने भएको छ, संघको दाङ शाखाको मंगलबार घोराहीमा बसेको बैठकले यस्तो कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

17580243_1414592778580431_1726029695_nकार्यक्रममा दाङको पर्यटन विकासको विषयमा केन्द्रीत रहेर स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको उजागर, पर्यटन पूर्वाधार, पर्यटन शिक्षा, पर्यटन क्षेत्रबाट लाभ, होटेल हस्पिटालिटी, गाँउ नगर सरसफाई, हरित नगर निर्माण गर्ने, नमुना गाँउ बनाउने लगायतका विषयमा सम्वाद हुनेछ । सम्वादले दीगो पर्यटन विकासको गुरुयोजना निर्माण गर्न सबैको सहकार्यलाई एकठाँउमा ल्याउने अपेक्षा गरिएको छ । जिल्लाका दश स्थानीय इकाइहरुको सहभागिताले नयाँ दृष्टिकोण निर्माण गर्ने र सोही अनुसार भावी दिनमा योजना निर्माणसंगै कार्यान्वयन चरणमा पुग्न सकिने आयोजकको दावी छ ।

कार्यक्रम अनुसार स्थानीय तह उपमहानगर पालिका, नगरपालिका र गाँउपालिकाका कार्यकारी अधिकृत, स्थानीय तहका राजनीतिक दलका नेतृत्व, उद्योग वाणिज्य संघ, होटेल व्यवसायी, यातायात व्यवसायी, पर्यटन व्यवसायी, जिल्ला समन्वय समिति र पर्यटन सम्बद्ध निकायहरुको सहभागितामा कार्यक्रम हुने संघकी सचिव मनु मगरले जानकारी दिइन् ।

दाङ शाखा अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा बसेको बैठकमा संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुुविचार)को प्रमुख आतिथ्यता र सचिव मनु मगरको संचालनमा बैठक बसेको थियो । संघको पूर्ण वैठकले केन्द्रीय समितिको आयोजना तथा बर्दिया शाखाको व्यवस्थापनमा बर्दियाको ठाकूरद्धारामा हुन गइरहेको राष्ट्रिय भेलामा अध्यक्ष प्रकाश चौधरी र सचिव मनु मगरलाई पठाउने निर्णय समेत गरेको उपाध्यक्ष तुल्सीराम वलीले जानकारी दिए ।