सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री एवम् सुझाव समितिका संयोजक हितराज पाण्डेले सप्तरीमा केही स्थानीय तहको सङ्ख्या थप गर्ने बारेमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद्हरुबीच छलफलल गरेर एकीकृत सुझाव दिन आग्रह गरिएको बताउनुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सांसद डा सुवोधकुमार पोखरेलले भोलि अपराह्न २ बजे बैठक बसी जिल्लाको पुनःसंरचनाको खाकाको बारेमा सुझाव दिइने बताउनुभयो ।

त्यस्तै समितिले भोलि फागुन २ गते बिहान ८ देखि १० बजेसम्म सिराहा, अपराह्न २ देखि ४ बजेसम्म धनुषा र ४ः३० देखि साँझ ६ः३० बजेसम्म महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नेछ । यसैगरी समितिले फागुन ३ गते बिहान ९ देखि ११ बजेसम्म सर्लाही, मध्याह्न १२ देखि २ बजेसम्म पर्सा, अपराह्न २ः३० देखि ४ बजेसम्म बारा र अपराह्न ४ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्ने जनाएको छ ।

यही माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगले पेस गरेको प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव दिन सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सदस्य रहेको एक समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समयसीमा दिइएको छ ।