काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको स्थापनाबाट मात्र लोकतन्त्रको संस्थागत विकास सम्भव रहेको बताएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबै क्षेत्रको भ्रष्टाचार न्यूनिकरण गर्न सकेमात्रै सफल राष्ट्रका रुपमा नेपाल परिचित हुने बताए ।
‘आयोगले स्थापनाको यस अविधमा भ्रष्टाचार नियन्त्रणको संवैधानिक जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आयोगबाट भएका काम कारवाहीबाट मुलुकको समग्र सुशासन प्रवद्र्धनमा योगदान पुगेको छ भन्ने मलाई लाग्छ’ उनले भने, ‘सार्वजनिक क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आयोगबाट भइरहेका प्रयासहरूको सह्राना गर्दछु ।’
दाहालले विद्यमान संविधानले विधिको शासनलाई मजबुत बनाउन राज्यका हरेक निकाय र पदाधिकारीहरू उत्तरदायी, पारदर्शी र जवाफदेही हुनुपर्ने विषयमा जोड दिए । संविधानले परिकल्पना गरेका बृहत्तर उद्देश्य प्राप्तिका लागि आयोगले खेल्ने भूमिकाको महत्वपूर्ण स्थान रहेको समेत उनले बताए ।
