इन्द्रेणी संवाददाता
काठमाण्डौ, १४ जेठ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनबीच भूकम्प पीडितलाई अनुदान रकम वितरणका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।vukampa

सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा आज भएको समझदारी अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पाउन छनोट सूचीमा परेका घरधनीहरुलाई बैंक खातामार्फत रकम उपलब्ध गराउनेछन् । रकम उपलब्ध गराउँदा सदरमुकाममा रहेका बैंकहरुले प्रत्येक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिर रहेका शाखामा दैनिक न्यूनतम २० वटा घरधनीको कारोबार निशुल्क गर्नेछन् ।

त्यसभन्दा बढि संख्याका घरधनीलाई अनुदान वितरण गर्दा प्राधिकरणले प्रति घरधनी २ सय २५ रुपैयाँका दरले सम्बन्धित बैंकलाई भुक्तानी दिने व्यवस्था मिलाउनेछ । अनुदान सम्झौता भइसकेका जिल्लाहरुमा तत्काल अनुदान रकम वितरण गर्न स्थानीय विकास अधिकारीले सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जिल्लाका सबै भौगोलिक क्षेत्रलाई समावेश गर्ने गरी अनुदान वितरण गराउन सक्ने व्यवस्था पनि सहमतिमा गरिएको छ ।

प्राधिकरणले विद्युतीय प्रणाली मार्फत सम्बन्धीत बैंकको केन्द्रीय कार्यालयलाई उपलब्ध गराएको घरधनीको विवरणको आधारमा सम्बन्धीत बैंकहरुले एकमुष्ठ रुपमा घरधनीको उपस्थिति विना नै शुन्य मौजदात खाता खोल्ने व्यवस्था मिलाउनेगरी सहमति भएको प्राधिकरणका प्रवक्ता राम थपलियाले जानकारी दिनुभयो ।