काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा पनि चौथो पुस्ता अर्थात फोरजी सेवा उपलब्ध गराउने भएको छ।
१७ दिन अघि अर्थात पुस १७ गतेदेखि १८०० मेगाहर्ज ब्याण्डमा काठमाडौं उपत्यका र पोखराबाट पोष्टपेड मोबाइलमा फोरजी सेवा सुरु गरेको थियो । पोष्पेड मोबाइलमा मात्र फोरजी शुरु गरेको टेलिकमले यहि माघ २२ बाट प्रिपेड मोबाइलमा समेत यस्तो सेवा विस्तार गर्ने जानकारी दिएको छ ।
पुस १७ देखि शुरु गरिएको फोर–जी सेवा करिब १५ दिनमै ४१ हजार सेवाग्राहीले लिइसकेको र सेवा लोकप्रिय बन्दै गएको बताइएको छ। कम्पनीले यसका लागि काठमाडौंका ३ सय ८ र पोखराका ७९ ओटा बिटिएस टावरहरुको स्तरोन्नती गरेको थियो ।
३९ करोडको लगानीमा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुचारु गरेको थियो । त्यस्तै टेलिकमलाई व्यवस्थापिका संसदको विकास समितिले ८ महिनाभित्र देशैभर फोरजी पुर्याऊन निर्देशन दिएको छ ।