इन्द्रेणी संवाददाता
घोराही, ३ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा संघका केही सदस्यहरुको मिलोमतोमा गैर व्यवसायीहरुलाई सदस्यता दिएको भन्दै विभिन्न व्यवसायिक संघ संगठनहरुले त्यस्ता गैर व्यवसायीको सदस्यता खारेज गर्न माग गरेका छन् ।
आज उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाउदै संघको चुनाव नजिकिदै गरेको समयमा चुनावमा आफ्नो पक्षको वर्चस्व कायम राख्नका लागि विभिन्न गाविसबाट कृत्रे सिफारिस ल्याएर गैर व्यवसायीलाई पनि सदस्यता दिइएको भन्दै त्यस्ता सदस्यको सदस्यता खारेज गर्न माग गरेका हुन् ।
नेपाल राष्ट्रिय वाणिज्य संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, राष्ट्रिय उद्योग व्यापार महासंघ र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले संयुक्त रुपमा जिल्ला उद्योग वाणिज्य संघलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउनु अघि संघको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी नजिकिदै गरेको संघको चुनावका लागि सदस्यता दर्ता पुस २९ गते ३ बजेसम्म भए पनि उवासंघका केही व्यक्तिले त्यो दिन रातभर संघको कार्यालय कव्जा गरी गैर व्यवसायीलाईै सदस्यता दिएको आरोप लगाएको छ । जसमा परन्धार गाविसबाट नक्कली गाविस सिफारिस ल्याएर ३ सय ३० जना, रामपुरबाट १ सय ७१, काभ्रेबाट ८१ र डुरुवाबाट २९ जना गरी करीव सात सय गैर व्यवसायीलाई सदस्यता दिइएको संगठनहरुले दावी गरेका छन् ।
ज्ञापनपत्र वुझदै संघका अध्यक्ष हेमराज वञ्जाडेले अहिलेसम्म आफूहरुले त्यस्ता गैर व्यवसायीलाई सदस्यता नदिएको र रामपुर, लक्ष्मीपुर र काभ्रे गाविसबाट आएको सिफारिसहरु केही समयका लागि रोकिएको जानकारी दिए । उनले संघमा रसिद काटिएका पुरन्धारका ३ सय ३० जनको सदस्यता रहेको र तीनलाई पनि छानविन गरेर गैर व्यवसायीलाई सदस्यता नदिने विश्वास दिलाएका थिए ।
