आवुधावी, २ माघ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् ।
दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुग्नुभएका प्रधानमन्त्रीले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन् ।

DSC8467-848x478नेपालीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ । मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौं । तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो । तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’

नेपालको राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ । सम्वाद सकारात्मक दिशामा छ, राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।’

उर्जा सम्मेलनबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘उर्जा सम्मेलन हाम्रा लागि धेरै महत्वको छ । जलविद्युतको प्रचुर सम्भावना भएर पनि हामीले सदुपयोग गर्न सकेका छैनौं । अहिले हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ ।’

ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘हामीले केही गर्न खोजेका छौं । यस्तो अवस्थामा सबैको साथ जरुरी छ । तपाईहरुको साथ पाएको छु, विकास र पूर्वाधार निर्माणमा तपाईहरुको थप सहयोग र सद्भावको अपेक्षा गरेको छु । तपाईहरुले जति पनि कुरा उठाउनु भएको छ । त्यसलाई म कुटनीतिक र राजनीतिक तबरले सम्बोधन गर्नेछु, त्यसमा तपाईहरु विश्वस्त हुनुहोला ।’