रोल्पा, २८ पुस । नेत्रविक्रम चन्द विप्लव माओवादीले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । अहिले नेपालमा धेरै माओवादी पार्टी भएको र नामका पछाडी व्यक्तिको नाम झुण्डाइने गरेकाले नाम परिवर्तन गर्न लागेको पार्टीले जनाएको छ ।
‘अहिले पनि हाम्रो पार्टीको नामभन्दा पछिबाट विप्लव समूहको माओवादी भन्ने गरिन्छ’ जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले भने, ‘हाम्रा पार्टीका महासचिव विप्लवले कम्युनिष्ट पार्टी भनेको साझा हुनुपर्छ अहिले हाम्रो पार्टीमा व्यक्तिको नाम झुण्डाउने गरिएकोले पार्टीको नाम फेर्नुपर्छ भन्नुभएको छ ।’
नाम फेर्ने बारे पार्टीभित्र बहस सुरु भएपनि यसको टुङ्गो भने आगामी फागुन १ गते काठमाडौंको खुला मञ्चमा उद्घाटन गरी ४ गतेदेखि रोल्पाको थबाङमा बन्द सत्रहुने पार्टीको ८ औं महाधिवेशनबाट मात्रै टुंगो लाग्ने उनले बताए ।
