नारायण खड्का, तुलसीपुर २१ पुस । दाङको एक मात्रै एयरपोट टरिगाँउ एयरपोर्ट बाट विमान नियमित रुपमा सञ्चालन गर्ने बारेमा सम्भाव्यता अध्यनगर्न मन्त्री सहितको उच्च स्तरिय टोली आज दाङ आउदैछ । टरिगाँउ एयरपोटमा २०७२ चैत २ गते यता विमान अवतरण भएको छैन । राप्ती समाचारमा खबर छ ।
त्यसअघि गोमा एयरले विमान सञ्चालन गर्दै आएको थियो । भौतिक पूर्वाधार तयारी हालतमा रहेपनि १० महिना यता विमान सेवा ठप्प रहेपछि टरिगाँउ एयरपोटको औचित्य माथि पश्न चिन्ह खडा भएको छ । यसैलाई मध्यनजर गर्दै विमान सेवा नियमित गर्नै संभावना छ वा छैन भन्ने बारेमा स्थलगत अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाही, सिंचाई मन्त्री दीपक गिरी सहितको उच्चस्तरीय टोली आज दाङ आउन लागेको जानकारी दिइएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गिरीले गत मंसिर २९ गते तुलसीपुरमा बृहत दाङ सिंचाई आयोजनाको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै टरिगाँउको एयरपोटबाट नियमित विमान सेवा सञ्चालनका लागि आफ्नो पहलमा पर्यटन मन्त्री सहितको टोली दाङ ल्याउने वचन दिएका थिए ।
बुधवार राप्ती समाचार संगको सम्वादमा मन्त्री गिरीले भनेका थिए ‘ मलाई यहाँसम्म पुर्याउने दंगाली जनताहरु नै हो र अब मैले जनताको कर्जा तिर्नुपर्छ । किनकी अहिले म उहाँहरुसंग विकासका लागि गरेको वाचाको कर्जा चुकाउने ठाँउमाछु ।’ दाङ क्षेत्र नं. ५ बाट निर्वाचित सांसद रहेका मन्त्री गिरीले दाङबाट फर्केर जाने र दाङमा कार्यक्रम लिएर आउन चाहाने विभिन्न पार्टीका नेताहरुले जिल्लाको एक मात्रै एयरपोर्ट समेत बन्द रहेछ है, भन्ने कुरागर्दा निकै लज्जाबोध हुने गरेको अनुभूति साटेका थिए ।
टरिगाँउ एयरपोटको स्तरवृद्धि र नियमित विमान सञ्चालन दाङको प्रतिष्ठा संग जोडिएकोले आफुले पर्यटनमन्त्रीलाई अनुगमनका लागि दाङ ल्याउन थालेको मन्त्री गिरीले जानकारी दिए । उनले एयरपोट नियमित रुपमा सञ्चालनमा आउन सकेमा दाङलाई राजधानी वनाउनका लागि एउटा गतिलो बार्गेनिङ प्वाइन्ट बन्ने तर्कपनि प्रस्तुत गरेका छन् । जिल्लाका विकास र आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने मन्त्री गिरीको भनाई छ ।
मन्त्री गिरीले एयरपोर्ट सञ्चालमा आउन नसक्नुको प्रमुख कारण जम्मा ७५० मिटर लम्वाईको धावन मार्गमा कालोपत्रे हुनुलाई नै मान्नुपर्ने बताए । निर्माण कम्पनीले बदमासी गरेको र दंगालीहरुलाई झुक्काएको उनको आरोप छ । ‘ एयरपोट कालोपत्रे हुने भयो भन्ने सुनेपछि मख्ख परियो तर कति दुरीमा हुँदैछ भन्ने हेक्का राखिएन र हेर्नपनि गइएन , त्यो हाम्रो कमजोरी थियो ।’
मन्त्री गिरीले थपे ‘ त्यसपछि इन्धन डिपो नहुनु लगायतका केही अन्य के कस्ता समस्या छन् त्यसको अध्यन अवलोकन गरेर तुरुन्तै यसअघि उडान भर्दै आएको सानो खालको विमान समेत उडाने वा धावन मार्ग विस्तार गर्ने भन्ने टुङ्गो लाग्ने छ।’ मैले सार्वजनिक रुपमै वाचा गरेको थिए, अविलम्व पर्यटनमन्त्री सहित उच्चस्तरीय टोलीलाई अनुगमनमा ल्याउँछु भन्ने र त्यही वाचा पुरा गर्न तथा टरिगाँउ एयरपोर्टको भविस्य सुनिश्चित बनाउने मेरो प्रायस हुने हो ।
उद्योग वाणिज्य संघको आषा
एयरपोटमा विमान सञ्चालनको लागि सबैभन्दा धेरै दौडधुप गर्ने र डेलिगेसन जाने यहाँका व्यापारीहरु नै हुन । त्यसैले अहिले सम्म विड मात्रै ताप्ने र ताप्के नताकोले विमान सेवा नियमित हुन नसेको टिप्पनी हुने गरेको थियो । झन्डै एकवर्ष टिकेटको जिम्मा नै लिएर टरिगाँएमा विमान सञ्चालन गर्ने तुलसीपुर उद्योग वाणिज्यसंघ नै हो ।
त्यसैले विमान सञ्चालनको लागि पर्यटन मन्त्री, सिंचाई मन्त्री र सांसद सहितको उच्चस्तरी टोली अनुगमनमा आउन लागेको प्रति उसले खुसी प्रकट गरेको छ । संघका अध्यक्ष विमल रिजालले राप्ती समाचार संग प्रतिक्रिया दिँदै भने ‘ अब फेरि विमान सेवा नियमित हुन्छ र जिल्लाको विकास निर्माणले गति लिन्छ भन्ने आषा गर्न सकिन्छ ।’ उनले विमानस्थलको वस्तुस्थिती बुझ्न पर्यटन मन्त्री शाही, मन्त्री गिरीका साथै दाङ क्षेत्र नम्बर ३ का सांसद राजु खनाल, सांसद अनिता देवकोटा, नागरिक उड्ययन प्राधिकरणका कार्यकारी निर्देशक सञ्जीव गौतम, निर्देशक टेकराज पोखरेल, निर्देशक भोछिभोयासहितको उच्चस्तरीय टोलीले तुलसीपुर विमानस्थलको स्थलगत निरीक्षण गरेर नियमित उडानका लागि पहल गर्ने आषा व्यक्त गरे ।
विमानस्थललाई नियमित सुचारु गराउन तुलसीपुर उद्योग वाणिज्य संघले पहल गर्दै आएको भएपनि त्यो प्रयास साकार हुन सकेको छैन । यो विचमा विमानस्थललाई नारायणपुर नजिकै खाली रहेको ३० विघा जग्गामा सार्ने , लमहीमा सार्ने वा अनेत्र सार्ने सम्मका कुराहरु चल्न थालेका छन् । चालुहालतको विमानस्थमा नियमित विमान सञ्चालन गर्नुको सट्टा नयाँ विमान स्थल निर्माणगरौं भन्ने तर्क कदापी स्वीकार्न नसकिने अध्यक्ष रिजालले बताए ।
तुलसीपुर विमानस्थल सञ्चालनका लागि पहिला जग्गा अधिग्रहण गर्नुपर्ने वा जंगल क्षेत्रको भाग तर्फ विस्तार गर्नु अनिवार्य रहेको अध्यक्ष रिजालले बताए । ठूला खालका विमान ल्याउनका लागि धावनमार्ग बढाउनुको विकल्प नरहेको भएपनि तत्काल साना खालका विमानवाट सेवा लिनु उपयुक्त हुने अध्यक्ष रिजालको तर्क छ ।
