दाङ, जेठ १२ ।
उत्सर्ग डान्सिङ स्टार २ की विजेता समीक्षा पौडेल भारतको सर्वाधिक ठूलो रियालिटी डान्स शो डान्स प्लसमा छानिएकी छिन् । उनले मे २४ मा भारतको बैंगलोरमा अडिसन दिएकी थिइन् । करीब ५ हजार नृत्यप्रतिभाहरुसंग उनले प्रतिष्पर्धा गरेकी थिइन् ।klआगामी डेढ महिनापछि बम्बैमा हुने दोस्रो चरणको प्रतिष्पर्धामा समीक्षाले नृत्य प्रस्तुत गर्ने भएकी छिन् ।

स्टार प्लस टेलिभिजनले गतवर्षदेखि आयोजना गरेको डान्स प्लसको निर्णायकमा चर्चित कोरियोग्राफर रेमो डिसुजा रहेका छन् । उनले समीक्षाको नृत्य प्रतिभाको निकै प्रशंसा गरेका थिए । ‘रेमो सरले मलाई बोकेर बाहिर ल्याउनु भयो । मेरो नृत्यबाट उहाँ निकै प्रभावित हुनु भयो ।’ उत्साहितभावमा समीक्षाले प्रतिक्रिया दिइन् ।

राप्तीकै एक चर्चित नृत्य प्रतिभा रहेकी समीक्षा घोराही ११ बुद्धनगर टोल निवासी हुन् । उनले विगत दुई वर्षदेखि दाङका चर्चित नृत्य प्रशिक्षक जीवन बुढाथोकीबाट प्रशिक्षण लिइरहेकी छिन् । उनी प्रायः सबै शैलीका नृत्यमा पोख्त छिन् । डान्स प्लसमा छानिएपछि निकै उत्साहित भएकी समीक्षाले नृत्य प्रशिक्षक बनेर देशको कला संस्कृतिको संरक्षण गर्ने लक्ष्य लिएकी छिन् ।।