काठमाडौं, ५ मंसिर । मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

demo_1481547484आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए। अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए। सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए। तर युवतीले मानिनन्। त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे। युवती चिच्याइन्। उनी भाग्ने प्रयास गरे। होटेलका कर्मचारी तथा सेक्यूरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए।

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयासमात्र गरेका थिए, त्यसभन्दा पहिला धेरै पटक उनले युवतीहरुलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ ।

तिरुपतिको घटना हुनुअगाडि नै उनी महानगरीय प्रहरी वृत्त जनसेवाको मोस्ट वान्टेड सूचीमा थिए । सुन्धाराका एक होटेलमा अन्तर्वार्ताका लागि भनेर एक युवतीलाई बोलाएर उनले बलात्कार गरेर भागेका थिए ।

‘पक्राउ परेका अभियुक्तले धेरै युवतीलाई बलात्कार गरेको बताएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने, ‘थप घटनाबारे अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका खड्काले १६–१७ वटा बलात्कारका घटनामा आफू संलग्न रहेको स्वीकारेका छन् ।

सबै घटनामा उनको एउटै तरिका देखिन्छ । मोडल तथा नायिका चाहिएको भन्दै विज्ञापन गर्ने। अन्तरवार्ताका लागि भनेर होटलमा बोलाउने । अन्तरवार्ताको बहानमा होटलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटलमै थुनेर भाग्ने । नयाँ पत्रिकामा खवर छ । यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्काले आफ्नो घर काभ्रेको श्यामपाटी भएको बताएका छन्। तर श्यामपाटीमा गएर प्रहरीले बुझ्दा सो नाम गरेको व्यक्ति नै नभएको खुलेको छ । अहिलेसम्म प्रहरीलाई नै उनले आफ्नो पहिचान लुकाइरहेका छन् ।