मन्त्री पाण्डे

बैतडी – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा सरकार स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

mantri-hitraj-pandey-1

सात नं प्रदेशअन्तर्गत बैतडीको सिद्धेश्वर गाविसलाई शुक्रबार बालमैत्री गाविस घोषित गर्दै उनले संविधानमा व्यवस्था भएअनुसारका तीन तहको निर्वाचन गर्न सरकार तयार रहेको बताए ।

बस्ती विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले धर्मुस सुन्तली फाउन्डेसनले अघि सारेको एकीकृत बस्ती विकासका अवधारणालाई सहयोग गर्न सरकार तयार रहेको बताए । उनले सबै गाविस, नगरपालिका, प्रदेश र सिङ्गो मुलुकलाई नै बालमैत्री बनाउन सरकार प्रयत्नशील रहेको पनि बताए ।

मन्त्री पाण्डेले बालमैत्री सूचक पूरा गर्ने गाविसलाई सरकारबाट प्राप्त हुने बजेटमा केही पुँजीगत बजेट थप गरिने आश्वासन दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले प्रथाजन्य कुसंस्कार र भौतिक पूर्वाधारका अभावमा बालमैत्री गाविस घोषणा गर्न नसकिएको बताएका थिए ।

रातोपाटी बाट