५२ बिद्यालय दरबन्दी बिहिन् 


darbandi-aabhabदिपक बोहरा तुलसीपुर २ पुस ।  दाङका अधिकांस सरकारी  बिद्यालयहरुले दरबन्दी अनुसारका  शिक्षक नभएको गुनासो गरिरहेका छन् । जसले गर्दा शैक्षिक गुणस्तर खस्कदै गएको उनीहरु बताउँछन् । कुनै बिद्यालयमा दरबन्दी अनुसारका शिक्षक नपठाउनु, त त कुनै बिद्यालयमा दरबन्दी नै उपलब्ध नगाराउनुले दाङका अधिकांस सरकारी बिद्यालयहरु अस्तब्यस्त बन्दै गईरहेका छन् ।

दरबन्दी अनुसारका शिक्षक नहुदा एउटै शिक्षकले धेरै कक्षा पठाउनु पर्ने तथा प्राबिका शिक्षकले माबि तह सम्म पढाउनु पर्ने बाध्यता रहदै आएको छ । यो समस्या प्राय ग्रामिण क्षेत्रका बिद्यालयहरुमा बढि देखिएको छ ।  तर दाङको सदरमुकाम तथा शहरी क्षेत्रका बिद्यालयमा भने एउटै बिद्यालयमा आबश्यक भन्दा बढि शिक्षक रहेका छन् ।  यसको प्रत्यक्ष मार ग्रामिण तथा पहुँँच नभएका बिद्यालयहरुले खेप्न बाध्य छन् । दाङमा   लामो समय देखी दरबन्दी मिलान नहुँदा पनि यस्तो समस्या उत्पन्न भएको हो ।

दरबन्दी मिलान नभएकै कारण शहरी क्षेत्रमा आबश्यक भन्दा बढि शिक्षक बस्ने गरेका छन्, भने ग्रामिण शिक्षक बिहिन बन्दै गएका छन् ।  शिक्षा संग सरोकार राख्ने बिभिन्न संघसंगठनहरुले जिल्ला शिक्षा कार्यालय दाङलाई पटक पटक दरबन्दी मिलान गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएको उनीहरु गुनासो गर्छन् ।  अहिले दाङका धेरै बिद्यालयहरुमा दरबन्दी नै उपलब्ध नभएको जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्कले देखाएको छ ।  अहिले दाङका २५ वटा प्राबि,१५ वटा निमाबि , १२ वटा माबिमा एउटा पनि दरबन्दी नभएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिए ।

शिक्षक नहुँदा गुणस्तर खस्कदै गयोः शिक्षाबिद
शिक्षा बिदहरु पनि शैक्षिक गुणस्तर खस्कुनुको एउटा कारण दरबन्दी अनुसारका शिक्षक नहुनु नै रहेको बताउँछन्  । शिक्षाबिद बिष्णु कुमार देवकोटाले दाङमा शिक्षक दरबन्दी भएपनि उचित ब्यबस्थापन हुन नसक्दा यस्तो समस्या भएको बताए । उनले राप्ती समाचारलाई भने ‘ दाङमा दरबन्दीको अभाब होईन्, अहिले भएको दरबन्दीलाई ब्यबस्थापन गर्न सक्ने हो भने प्रत्यक सरकारी बिद्यालयमा दरबन्दी पुग्छ ।’

शिक्षकहरु शहर केन्द्रीत हुने गरेकाले दरबन्दी मिलानको समस्या हुने गरेको उनको भनाई थियो । उनले भने‘ सबै शिक्षकहरु शहरमा मात्रै बस्न खोज्ने, ग्रामिण क्षेत्रमा जान नामान्ने प्रबृतिले शहरी क्षेत्रमा आबश्यक भन्दा धेरै र ग्रामिण क्षेत्रमा  दरबन्दी अपुगको समस्या देखिएको छ ।’  दाङमा राजनीतिक खिचातानिले गर्दा पनि दरबन्दी मिलान गर्न समस्या देखिएको उनको भनाई थियो । दरबन्दी अनुसारका शिक्षक नपठाउँने हो भने दाङको शैक्षिक गुणस्तर खस्कदै जाने र दक्ष जनशक्ति उत्पादन हुन नसक्ने उनले बताए । अर्को तर्फ दाङमा देखिएको दरबन्दी समस्यालाई हल गर्न बिद्यालय मर्ज गर्नु अपरिहार्य रहेको उनको भनाई थियो ।

राजनीतिक दवावले दरबन्दी मिलानमा समस्या : जिसिअ  

राजनीतिक दवावले गर्दा दाङमा दरबन्दी मिलान गर्न समस्या भएको दाङका  शिक्षा अधिकारी रमेश मैनालीले बताए । उनले भने‘ एउटा पार्टीले आफ्नो शिक्षकलाई यो बिद्यालयमा पठाउनु प¥यो भनी दवाव दिन्छ, अर्को पार्टीले त्यसको बिरोध गर्छ । दरबन्दी मिलान हुन नसक्नुको मुख्य कारण यही हो ।’ जसले गर्दा  शिक्षा कार्यालय दाङ दरबन्दी मिलान गर्न चुकेको उनले स्वीकार गरे ।  राजनीतिक दलले शिक्षामा राजनीति गर्दा शिक्षाका हरेक बिकास निर्माणमा अबरुद्ध हुँदै आएको गुनासो पटक पटक आईरहेका छन् ।

शिक्षा अधिकारी मैनालीले दाङमा प्रयाप्त दरबन्दी भएपनि मिलान हुन नसक्दा नै समस्या उत्पन्न भएको स्वीकार गरे । उनले राप्ती समाचारलाई भने ‘ अहिले दाङमा कार्यरत शिक्षकलाई ब्यबस्थापन हुने हो भने दाङमा दरबन्दी अभाबको कुनै समस्या हुँदैन् । ’ दाङमा दरबन्दी अनुसारका शिक्षक कार्यरत भएपनि उनीहरु शहर केन्द्रित भएको उनले बताए । उनले  शिक्षकहरु ग्रामिण क्षेत्रमा जान नमान्दा पनि यस्तो समस्या देखिएको बताए ।  उनले भने‘ अहिले शहरी क्षेत्रमा आबश्यक भन्दा बढि शिक्षक छन्, तर ग्रामिण क्षेत्रका कुनै पनि बिद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन् ।’ उनले थपे ‘ कक्षा ८ (आधारभुत तह ) सम्म का लागि दाङमै दरबन्दी प्रयाप्त दरबन्दी छ । कक्षा ९ देखी १२ (माध्यामिक) तहका लागि केही दरबन्दी अपुग हुन्छ ।’

अर्को तर्फ कुनै बिद्यालयमा बिद्यार्थीको संख्या एकदमै न्यन  हुनु र कुनैमा अधिकतम भन्दा पनि बढि बिद्यार्थी हँदा दरबन्दी मिलानमा समस्या हुने गरेको शिक्षा अधिकारी मैनालीको भनाई छ ।  केही बिद्यालयमा एउटा कक्षामा ८ जना मात्रै र केही बिद्यालयमा एक सय भन्दा बढि बिद्यार्थी रहेको अबस्थामा पनि दरबन्दी मिलान गर्न समस्या पर्ने उनले बताए ।  दरबन्दी मिलानका लागि न्युन बिद्यार्थी रहेको बिद्यालयहरुलाई मर्ज गर्नुपर्ने आबश्यकता देखिएको  उनले बताएका छन् । प्रायः बिद्यालय थोरै हुने समस्या पहाडि भेगमा देखिएकाले ती बिद्यालयहरु मर्ज गर्नुभन्दा अर्को बिकल्प नरहेको उनको भनाई छ ।

 बिद्यालयमा दरबन्दी मिलान गर्दा प्राबि तहमा ४० जना बिद्यार्थी बराबर एक जना शिक्षक दरबन्दी पठाउने ब्यबस्था छ । भने निमाबि र माबिमा प्रत्येक बिषयको बिषयगत शिक्षकको दरबन्दीको ब्यबस्था गर्ने प्राबधान रहेको छ त्यसमा थप सेक्सन भए थपिएका सेक्सनको संख्याका आधारमा दरबन्दी पनि एक सेक्सन बराबर एक शिक्षक थपिदै जाने ब्यबस्था रहेको शिक्षा अधिकारी मैनालीले बताए ।

मैनालीले  दाङमा आउदो एक महिना भित्र  दरबन्दी मिलान गरिसक्ने जानकारी दिए । अहिले सरकारले पिसिएफ बापतको रकम रोक्का गरेको छ , जसले गर्दा पनि जिल्ला शिक्षा कार्यालयलाई दरबन्दी मिलान गर्न थप दवाव पुगेको उनको भनाई थियो । यस्का लागि तुरुन्त कार्यदल बनाई दरबन्दी मिलान गर्न तर्फ लाग्ने उनले बताए ।  उनका अनुसार माघको अन्तिम सम्म दरबन्दी मिलानको काम सकिने छ ।

शिक्षा अधिकारी मैनालीले दिएको जानकारी अनुसार अहिले दाङमा दरबन्दी एक हजार एक सय ९४, प्राबि राहात ४ सय ५५, समायोजना हुन बाँकी महिला दरबन्दी ४६ गरी एक  हजार ६ सय ९५ स्थायी शिक्षक कार्यरत छन् । त्यस्तै कक्षा ६ देखी ८ सम्म दुई सय ७८ दरबन्दी, एक सय ३४ राहत गरी जम्मा  ४ सय १२ जना स्थायी शिक्षक कार्यरत रहेका छन भने कक्षा  ९ देखी १० का लागि दुई सय २२ दरबन्दी, २५ राहात गरी जम्मा दुई सय ४८ शिक्षक कार्यरत रहेको छन् । त्यसैगरी  कक्षा ११ र १२ का लागि २५ जना दरबन्दी, ५१ जना राहात, र ५१ जना अनुदान गरी १०२ जना शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङकमा रहेको छ । राप्ती समाचार