इन्द्रेणी संवाददाता
दाङ, २९ मंसिर । सिंचाइ मन्त्री दिपक गिरीले सल्यान शारदा नदीको पानी दाङमा ल्याएर सिंचाइ गर्न सकिने बताएका छन् । आज तुलसीपुरमा बृहत दाङ उपत्यका सिंचाइ योजनाको कार्यालयको उद्घाटन गर्दै मन्त्री गिरीले त्यसका लागि सल्यान शादा नदीबाट करीव ४ किलोमिटर मात्रै सुरुङ निर्माण गरेर दाङमा पानी ल्याउन सकिने बताए ।
शारदाको पानी दाङमा ल्याएर सिंचाइ गर्ने योजना पनि शुरु हुने आस्वासन दिदै मन्त्री गिरीले त्यसका लागि आफू पहल गर्ने बताए । दाङमा ६३ हजार हेक्टर जमिन अहिले पनि सिंचाइ विहन भएको उल्लेख गर्दै उनले शारदाको पानी दाङमा ल्याउन सके यो समस्या केही रुपमा हल हुने बताए ।
आफूले दाङको सिंचाइ, खानेपानी लगायतको समस्यालाई हल गर्नका लागि लागीपर्ने उनले बताए । उनले दाङ सुर्खेत जोडने सडक कालोपत्रे, टरियाउँ विमानस्थलको स्तरउन्नतीलगायतका काममा आफू तदारुक्ताका साथ लाग्ने बताए ।