श्रीनाथकोट, २९ मंसिर । गोरखाको श्रीनाथकोट–३ डाँडागाउँका ८१ भूकम्पपीडित घरपरिवारले भूकम्प प्रतिरोधी घर पाएका छन् । ‘कम्युनिटी चेष्ट अफ कोरिया र वेटर वर्ल्ड’ नामक संस्थाको आर्थिक सहयोगमा गोरखाको अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति तथा दलित बस्तीमा घर पुनःनिर्माण गरी गाउँलेलाई हस्तान्तरण गरेको हो ।

downloadडाँडागाउँका भूकम्पपीडित कृष्णबहादुर मझकोटीको घर उद्घाटन गरी स्थानीय विकास अधिकारी नारायण आचार्यले भूकम्पपीडितलाई नयाँ घर हस्तान्तरण गर्नुभएको हो ।

विपन्न दलित समुदायका भूकम्पपीडित घर पाएपछि खुसी छन् । एउटा घर निर्माणमा संस्थाले करिब रु चार लाख लगानी गरेको अनुग्रह सामुदायिक विकास केन्द्रका अध्यक्ष साधुराम नेपालीले जानकारी दिए ।

संस्थाले डाँडागाउँको बुद्धिकल्याण प्राथमिक विद्यालयमा छ कोठे भवन, घरघरै खानेपानीको धारा र घरघरमा मोटरबाटो पुर्याएको छ । विद्यालय भवन पुनःनिर्माणमा २५ लाख लगानी गरिएको उनको भनाइ छ ।

यस्तै जनकल्याण माविदेखि गाविस भवनसम्मको करिब तीन किमी सडक स्तरोउन्नति गरिएको नेपालीले जानकारी दिनुभयो । भूकम्पले घर भत्केपछि दुःखी भएका नेपालीलाई ओतमा बस्ने व्यवस्थाका लागि आफूहरुले घर निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको कोरियास्थित ‘वेटर वल्ड’ नामक संस्थाका प्रतिनिधि इलोक पार्कले बताए ।

“विपन्न दलित बस्ती पुनःनिर्माणमा हामीले सहयोग गरेका छौँ । यो बस्तीलाई कसरी विकसित बनाउने, गाउँलेलाई कसरी जीवनयापन गर्न सहज बनाउने भन्नेबारे हामी सोच्दै छौँ ।”

घर हस्तान्तरण कार्यक्रममा स्थानीयवासी इन्द्रबहादुर रम्तेलले गाउँलेले घर पाएको भए पनि शौचालय तथा सरसफाइको अवस्था ज्यादै दर्दनाक अवस्थामा रहेको बताए । भूकम्पले गाउँका सबै शौचालय भत्केपछि समस्या भएको हो । पुनःनिर्माणले गतिलिन नसकिरहेका बेला विदेशीको सहयोगमा डाँडागाउँको बस्ती पुनःनिर्माण भएको हो ।