रुकुम, २० । राप्तीको पहाडी जिल्ला रुकुममा पहिलो पटक पुराना कपडा प्रशोधन गरेर कपास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । चौखावाङ –४ का स्थानीय युवा नरेन्द्र ओलीले इञ्जिनियरिङ पढाइपछि १० लाखको लगानीमा मुसिकोट नगरपालिकास्थित सोलावाङमा कपास उद्योग सञ्चालन गरेका हुन् ।

thotra-kapada-1कम लगानी, मेहनत र परिश्रमबाट स्थानीय कच्चा पदार्थको सदुपयोग गरेर राम्रो आम्दानी हुने भएकाले कपास उद्योगमा लगानी गरेको ओलीले बताए । ‘गाउँ–गाउँमा रहेका पुराना कपडाहरुलाई प्रशोधन गरी नयाँ कपास उत्पादन गर्न सकिन्छ’ उनले भने ।

ओलीले दैनिक ७०÷८० किलोग्राम कपास उत्पादन गरी जिल्लाका विभिन्न बजारमा निर्यात गर्ने गरेका छन् । कपास बिक्रीवितरणबाट दैनिक १० हजार रूपैयाँ आम्दानी गर्न थालेका पनि उनी बताउछन् ।

पछिल्लो समय जाडो वढेसँगै स्थानीय बजार लगायत ग्रामीण क्षेत्रमा समेत कपासको अत्याधिक माग बढेपछि कपास उत्पादनमा भ्याइनभ्याई भएको उनी बताउँछन् ।

विशेषगरी असोजदेखि फागुनसम्म अत्याधिक जाडो बढ्ने र कपासबाट सिरक, डसना निर्माण हुने भएकाले कपासको अत्याधिक बिक्री हुने गर्दछ । उद्योगमा ८ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् ।