गुल्मी, १५ मंसिर । जिल्ला अदालत गुल्मीले हत्याको अभियोगमा पक्राउ परेका दाजुभाइलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गुल्मीको बाँझकटेरी गाविस–१ का छत्रबहादुर वलीको हत्यामा संलग्न प्यूठान अर्खा गाविसका दिपक गिरी र लेखनाथ गिरीलाई जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलाशले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।

download-1हत्या अभियोगमा प्यूठानको बाग्दुल्लाबाट पक्राउ परेका उनीहरुले गएको असार ३० गते गुल्मीको बाँझकटेरीमा राति घरमा सुतिरहेको बेला बास बस्ने बहाना बनाएर छत्रबहादुरको घरमा लुटपाट गरी उनको हत्या गरेका थिए ।

छत्रबहादुरकी श्रीमती खगिसरा वलीले जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएको किटानी जाहेरीलाई आधारमानी जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत गुल्मीमा मुलुकी ऐन कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको थियो ।