इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । ब्रमकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र दाङले तीन दिने खुसीयाली जीवन एवं स्वस्थ समाजका लागि राजयोग क्याम्प सञ्चालन गर्न लागेको छ । घोराही केन्द्रमा मंसिर १७ गतेदेखि १९ गतेसम्म क्याम्प (शिविर) सञ्चालन गर्न लागेको विद्यालयले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

dscn0609जताततै अशान्ति फैलिरहेको वेला मानिसहरुमा मानसिक शान्ति दिन, सकारात्मक सोचको विकास गर्न सद्भाव कायम गर्न, तनाव व्यवस्थापन गर्नेलगायतका उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । क्याम्प विहान ७ बजेदेखि साढे ९ बजेसम्म र दिउँसो २ बजेदेखि साढे ४ बजे गरी दुई चरणमा सञ्चालन हुनेछ ।

जसमा विहानको समयमा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीहरु, सेवा निवृत्त कर्मचारी शिक्षक, स्वास्थ्यकर्मी, निजी क्षेत्रका व्यक्ति, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु, सेना, प्रहरी, विभिन्न क्लवका प्रतिनिधिहरु सहभागी हुने छन् । दिउँसोका समयमा पंतन्जली योग, राजनीतिक व्यक्तित्व, गैरसरकारी संस्था, शैक्षिक, समाजिक संघसंस्था, युवा, टोल विकास संस्था, मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत सहभागी हुने छन् ।

विद्यालयका राप्ती अञ्चल प्रमुख गीता दिदिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले यो क्याम्पेनले दाङको समाजिक विकासमा टेवा पु¥याउनुका साथै सबैमा शान्ति र सद्भावको विकास गर्ने बताए । सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले पनि आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण माधव तिमिलसेनाले गरेका थिए ।