लक्ष्मण बस्नेत, तुलसीपुर १२ मसिर । तुलसीपुर बजार क्षेत्रमा रहेको एकमात्रै खेल मैदान अरनीको मैदानको स्तर उन्नती गर्नका लागि सरोकारवालाहरु जुर्मराउन थालेका छन् । शनिवार भएको छलफलमा अरनीको मैदानको स्तउन्नती र मर्मतका लागि तुलसीपुर नगर विकास समितिले सघाउने जानकारी दिएको हो । स्तरउन्नतीको लागि सोमवार सम्ममा टेन्डर खोल्ने नगर विकास समितिका अध्यक्ष राजन खड्काले जानकारी दिएका हुन ।
अरनीको मैदान स्तरउन्नती गर्न झण्डै २५ लाख बराबरको लागत स्टिमेट तयार गरिएको छ । अरनीको खेल मैदान संरक्षण तथा मर्मतगर्न भन्दै कार्य सम्पादन प्रक्रिया समेत थालेको छ । तुलसीपुर नगर विकास समितिको स्वामित्वमा रहेको मैदान संरक्षण तथा स्तरउन्नतीका लागि यहाँका खेलाडी र खेल प्रेमिहरुले साझा रुपमा चसो र चिन्ता व्यक्त गर्दै आएका थिए । तुलसीपुर नगर विकास समितिले उनीहरुकै आग्रहमा अरनीको मैदान संरक्षणमा भूमिका खेल्ने निर्णय गरेको नगर विकास समितिका अध्यक्ष खड्काले बताएका थिए ।
यसअघि तुलसीपुर नगरपालिकाले १० लाख उपलब्ध गराएको थियो । उक्त रकमवाट मैदानको दक्षिण र उत्तर तर्फ पर्खाल निर्माण गरिएको छ । तर, मैदानको पश्चिम तर्फको जग्गा अतिक्रमणमा पर्र्दै गएको जानकारहरु बताउँछन् । त्यसको संरक्षण र मैदान भित्र बस्तु चौपाय र भुसिया कुकुर समेत सहजै प्रवेश पाउने हुँदा मैदान कुनैपनि टुनामेन्ट सञ्चालन गर्न लायक छैन । मैदान भित्र र त्यहाँ रहेको मञ्च फोहरले भरिएको छ । अब बाँकी रहेको स्तरउन्नतीको काम गर्नका लागि नगरविकास समितिले तत्काल एक्सन लिने समितिका अध्यक्ष खड्काले बताएका हुन ।
अध्यक्ष खड्काका अनुसार खेल मैदानको स्तरउन्नती स्वरुप मैदान मिलाउने खेलाडिहरुका लागि कपडा फेर्न मिल्ने कोठा सहितको सौचालय , मैदानमा रहेको अव्यवस्थित मञ्चलाई स्थान्तरण गर्ने, मैदानको पश्चिम तर्फ नालामा प्याफिट बनाउन सकिने फाउण्डेशन सहितको पर्खाल लगाउने जस्ता काम नगरविकास समितिको पहिलो प्राथमिकतामा पारिएका छन् । अरनीको मैदानको स्तरउन्नतिका लागि एक दुई दिन भित्रै टेण्डर आह्वान गरिने अध्यक्ष खड्काले जानकारी दिए ।
उनका अनुसार पुसको अन्त्य सम्ममा पर्खाल लगाउने काम पुरा गर्ने लक्ष्य राखिएको छ । शनिावर आयोजित अरनिको मैदान स्तरउन्नती तथा संरक्षण विषय अन्तरक्रिया कार्यक्रम ऋषिराज लहरे (अरुण)को अध्यक्षता र तुलसीपुर नगरविकास समितिका अध्यक्ष राजन खड्को प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न खेल संग आवद्ध खेलाडिहरु , खेल प्रेमिहरुको सहभागिता थियो । कार्यक्रमका बक्ताहरुले तुलसीपुर क्षेत्र र समग्र दाङको खेल कुदको विकास लागि अरनीको मैदानको स्तरउन्नती र संरक्षण अपरिहार्य रहेको बताएका थिए ।
उनीहरुले अरनीको मैदानको स्तरउन्नती पछि टुनामेन्टहरु आयोजना गर्न सकिने र त्यसमा टिकेटको व्यवस्था गरेर खर्चको व्यवस्थापन गर्न सकिने सुझाव दिएका थिए । कार्यक्रमलाई नेपाल यातायात राष्ट्रिय व्यवसायी संघका राप्ति अञ्चल संयोजक यमकान्त भण्डारी, दाङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष
सिताराम शर्मा, दाङ जिल्ला फुटबल संघका महासचिव सुशील श्रेष्ठ, तुलसीपुर नगर जेसिजका अध्यक्ष सुर्यप्रसाद शर्मा, तुलसीपुर नगर विकास समितिका सदस्य नारायणप्रसाद शर्मा, तेवाक्वान्दोका अन्तराष्ट्रिय खेलाडी मोहन सुनार,फुटबलका राष्ट्रिय खेलाडी दुर्गा लवट, खेलाडी अञ्जना मल्ल लगाएतकाले
आ–आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा बंगलादेशमा हालै भएको अन्तराष्ट्रिय ह्याण्डबल प्रतियोगितामा नेपालको प्रतिनिधीत्व गर्दै प्रतिपर्धा गर्ने दाङकी खेलाडी अञ्जना मल्ललाई सम्मान गरिएको थियो ।