kaidiसल्यान १२ ।सल्यानमा एकै परिवारका ३ जना सहित ४ जनाको हत्या गरेको ठहर गर्दै अदालतले एक जनालाई सर्बस्व सहित जन्मकैदको फैसला सुनाएको छ ।

छायाक्षेत्र गाबिस ९ रानागाउँका सञ्जय भारतीले बैशाख १४ गते राती छाँयाक्षेत्र ९ रानागाउँस्थित २३ बर्षीया सीता खान ठकुरी, उनकी छोरीहरु ३ बर्षीया पवित्रा खान, १ बर्षीया सविता खान र सीताकी बहिनी सल्यान मधानाकी १८ बर्षीया गीता गिरीको चौपाया बाँध्ने किलाले हिर्काएर हत्या गरेका थिए ।

जिल्ला अदालत सल्यानका न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले भारतीलाई सर्बस्वसहित जन्म कैदको फैसला सुनाएको हो । रानाागाउँ हत्याकाण्डका हत्या आरोपी भारतीमाथि जिल्ला सरकारी वकिल कार्यालय मार्फत कर्तब्य ज्यान तथा जबरजस्ती करणीको मुद्दा दायर गरिएको थियो ।

घटनाको भएको २४ घण्टा नवित्दै प्रहरीले भारतीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । घटनाको अनुसन्धानका लागि कोहलपुरबाट ल्याइएको भुन्टी नामक कुकुरले सञ्जयलाई पक्राउ गर्न सहयोग गरेको थियो । भारतीले मदिरा सेवन गरी बलात्कार गर्ने सोचका साथ त्यहाँ पुगेर हत्या गरेको बयानमा उल्लेख छ ।