काठमाडौं– सरकारले वार्ताका लागि टोली बनाएकै दिन डा गोविन्द केसीले वार्ता भंग भएको घोषणा गरेका छन् । उनले यता वार्ता टोली गठन गरेर उता आफ्ना समर्थकलाई पक्राउ गरेको भन्दै वार्ता नगर्ने बताएका हुन् । उनले पक्राउ गरेकोमा सरकारले माफी माग्नुपर्ने शर्त तेस्र्याएका छन् ।

govind-kcत्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै खनियाँ निवास घेर्न पुगेका केसी समर्थित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण विरोधको कार्यक्रम अन्तर्गत घेराउ गर्न जान लागेका उनीहरुलाई प्रहरीले बाटोबाटै पक्राउ गरेको थियो । डा केसीले तत्काल उनीहरुको रिहाइसँगै सरकारले माफी माग्नुपर्ने बताएका छन् ।

सरकारले वार्ता टोलीमा राखेका सचिवहरु शान्त बहादुर श्रेष्ठ र डा सेनेन्द्रराज उप्रेतिसँग यसअघि पनि डा केसीले सम्झौता गरिसकेका छन् । शान्तबहादुर स्वास्थ्य सचिवबाट केही समयअघि मात्रै सरुवा भएका थिए भने त्यसपछि डा सेनेन्द्र स्वास्थ्य सचिव भएका थिए ।

यी दुवै सचिवले माग पूरा गराउने भनेर सम्झौता गराएपनि अनशन बसिरहनु परेकाले डा केसी सरकारको यो टोलीसँग खुशी नरहेको बताइन्छ । किनभने अघिल्ला अनशनका क्रममा श्रेष्ठ स्वास्थ्य सचिव थिए भने आठौं अनशन तोड्दाको सम्झौताको नेतृत्व सरकारका तर्फबाट डा सेनेन्द्रले गरेका थिए ।

यसअघि मन्त्री पषिद्ले नै बनाएको वार्ता टोलीसँग सहमति हुँदा कार्यान्वयन नभएको उल्लेख गर्दै यो वार्ता टोलीको ‘हैसियत’ बारे डा केसीले आजको भेटमा प्रश्न गरेका थिए । उनले जिज्ञासा राखेका थिए, ‘यो कसरी बनेको कुन स्तरको बार्ता टोली हो ? यो टोलीसँग भएका सम्झौता मन्त्री परिषद्मा पास हुने वातावरण बन्छ कि बन्दैन ?’

दुवैजना डा केसीका मागप्रति जानकार भएपनि माग पत्र बुझ्ने लगायतका औपचारिकता दर्शाउन थालेपछि डा केसी शशंकित भएका थिए ।

पक्राउ परेका रिहा गर्ने वातावरण बनाएर तत्काल वार्ता सुरु गर्नुपर्ने भएपनि उनीहरुले एक दिन पर सारेपछि डा केसी उनका समर्थक वार्ताटोलीका दुई सचिवको कार्यशैलीबाट खुशी नरहेको बुझिएको छ ।