इन्द्रेणी संवाददाता
दाङ ११, मंसिर । यही मंसिर ३० गतेदेखि घोराहीमा सञ्चालन हुने सातौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७३ मा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ ।
सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवमा दर्शकको मागलाई सम्बोधन गर्दै सांस्कृतिक कार्यक्रम पनि राखिएको मूल समितिका संयोजक घनश्याम बरालले जानकारी दिनुभयो । समय मिलेसम्म राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार ल्याउने तयारी भइरहेको उनीहरुको भनाई छ ।
यसैगरी सांस्कृतिक उपसमितिका संयोजक गणेश ओलीले राप्तीका विभिन्न जिल्लामा घर भएर राष्ट्रिय स्तरमा ख्याति प्राप्त तथा जिल्लामा रहेर गाएन, नृत्य जस्ता विभिन्न विद्यामा योगदान दिइरहेका कलाकारलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो । जिल्लामा कृयाशिल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उत्सर्ग फिल्मस प्रालि, पेज थ्रि इन्टरटेनमेन्ट प्राली, रुकुमली एकता समाज, जिल्लामा कृयाशिल गीतसंगित र नृत्य कलाकेन्द्र जस्ता गीत संगित र नृत्यको क्षेत्रमा योगदान गरिरहेका संघ संस्थाको सहयोग, समन्वय र सुझाबका आधारमा कार्यक्रम तय भइरहेको उपसमितिका संयोजक ओलीको भनाई छ ।
जिल्लामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङ शाखाले यस्तो महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवमा विभिन्न भाषाभाषिका साहित्यिक, सांस्कृतिक, वैचारिक, ऐतिहासिक, कुटनीतिक, वालसाहित्य तथा विद्यालयका पाठ्यपुसतकहरु सस्तो मूल्यमा वित्रि mहुने पनि आयोजकको भनाई छ ।
