तुलसीपुर ११ मंसिर । बिहान कार्यालय समय नहुँदै धुलो उडाउँदै आएका केही गाडीहरु घ्याच्च रोकिए । बिहीबार धनौरी स्वास्थ्य चौकीमा एउटा फरक माहोल थियो । स्वास्थ्यकर्मी, कर्मचारी अनि स्थानीयको हातहातमा फूलका गुच्छा अनि फूलकै मालाहरु थिए । गाडीबाट ओर्लिए प्रमुख जिल्लाअधिकारी दीपक काफ्ले, स्थानीय विकास अधिकारी कूलबहादुर जिसी, नेपाल रेडक्रस सोसाइटीका (सीइएचपी)का उप निर्देशक राजकुमार क्षेत्री, वास अधिकृत शंकर भट्टराई, उप जिल्ला शिक्षाअधिकारी रुद्रप्रसाद रेग्मी, खानेपानीका डिभिजन प्रमुख चोकप्रसाद धिताल, इन्जिनियर तीलक न्यौपाने, जनस्वास्थ्य निरीक्षक जनार्दन गौतम, रेडक्रस दाङका सभापति नारायण आचार्य । अनि त्यसमा रेडक्रसका फिल्ड स्टाफहरु, गाविस सचिब पनि थिए ।
टोली ओर्लिनासाथ सबैलाई फूलमालाले स्वागत गरियो । स्वागतपछि स्वास्थ्य चौकीका गतिविधिका बारेमा त्यहाँका निमित्त इन्चार्ज मोहन रावतले केहीबेर जानकारी गराए । जानकारीकै क्रममा उनले धनौरी स्वास्थ्य चौकीका लागि थप नयाँ भवन बनाउन बजेट समेट विनियोजन भइसकेको, ठेक्का समेत भइसकेको तर, काम सुरु नभएको बताए । अनि भवनकै अभावले गर्दा बिरामीहरुलाई चेक जाँचमा समस्या भएको गुनासो पनि सुनाए । डायरीमा गुनासा टिपीरहेका प्रमुख जिल्लाअधिकारी दीपक काफ्लेले त्यसपछि जनस्वास्थ्य प्रमुखलाई केही कुरा राखिदिन भने । जनस्वास्थ्य प्रमुखले पनि भवनका लागि बजेट आएको र भवन डिभिजन कार्यालयलाई जिम्मा दिइसकिएको जानकारी गराइरहँदा प्रमुख जिल्लाअधिकारीले भवन डिभिजन प्रमुखलाई नै फोन लगाए ।
फोनमै त्यसबारे जानकारी लिएपछि उनले तत्काल काम अघि बढाउन निर्देशन पनि दिए । भवन डिभिजनले धनौरी स्वास्थ्य चौकीमा नयाँ भवन बनाउनका लागि जय माता निर्माण कम्पनीलाई ठेक्का दिइसकेको र चाँडै काम हुने भन्ने जानकारी गराएको पनि प्रमुख जिल्लाअधिकारीले त्यहीँ सुनाए । अब दुई वर्ष भित्रमा धनौरी स्वास्थ्यचौकीले नयाँ भवन पाउने छ । त्यसपछि प्रमुख जिल्लाअधिकारी काफ्लेले आफ्ना मन्तव्य राख्दै भने ‘यसरी गाउँगाउँमा घुमेर जनताका पीरमर्का बुझ्ने अवसरलाई मैले नौलो अनुभवका रुपमा लिएको छु, भइहाल्ने कामलाई पनि यहाँ बाहाना गरेर टार्ने चलन छ, यी हेर्नुस् मैले यहीँबाट फोन गरेर काम अघि बढाउन भनिसकेको छु ।’ उनले आम नागरिकहरुलाई सम्बन्धित निकायमा गुनासो गर्न, मागहरु राख्न र आफै जुर्रमुराएर लाग्न पनि आग्रह गरे । ‘जनताले पनि आफ्ना मागहरु सिर्जना गर्नुपर्छ, अनिमात्रै हामी कर्मचारीहरुलाई काम गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी बढ्छ ।’
प्रमुख जिल्लाअधिकारी काफ्लेले गाउँगाउँमा धेरै विकासको लहरसँगै चेतना पनि फैलिन थालेको बताए । तर, एनजिओहरुको काम सबै चित्त बुझ्दो नरहेकोप्रति पनि उनले सचेत गराए । ‘वस्ती वस्तीमा विकास र चेतनाका कामहरु पनि भएका छन्, धेरै प्रगती भएको छ तर, एक ठाउँमा काम गरे, चार ठाउँमा रिपोर्टिङ गर्ने प्रचलन पनि बढेको छ, यस्तो हुनु राम्रो होइन ।’
उनले जनताका मागलाई सिष्टममा लैजानका लागि तल्लो तहदेखि नै वार्षिकरुपमा परिषदहरु हुँदै आउने भएका कारण गाउँ, वस्तीस्तरीय वरिषदबाटै आफ्ना मागहरु, योजनाहरु लैजान पनि त्यहाँका स्थानीयलाई अनुरोध गरे । ‘तपाइँहरुको माग जिल्ला परिषदसम्म पुगेन भने योजनाहरु आउन गाह्रो हुन्छ, योजनाहरु पार्नका लागि गाउँ, इलाकास्तरदेखि नै मागहरु समावेश हुनुपर्छ त्यो बेलामा तपाईँहरु चनाखो हुनुपर्छ’ उनले भने ‘अनि योजनाहरु परे कि परेनन् भनेर ख्याल गर्नुस्, योजना प¥यो भने समयमै सम्झौता गर्नुस्, परेनन् भने किन नपरेको भनेर सोधीखोजी पनि गर्नुस् ।’
स्थानीयले स्वास्थ्यचौकी लगायत गाउँमा समेत पिउने पानीको अभाव हुने गरेको बताएपछि अनुगमन टोलीमै रहेका खानेपानी डिभिजनको टोलीलाई प्रमुख जिल्लाअधिकारीले वस्ती नजिकका मुहानहरुको अध्ययन गर्नसमेत पठाएका थिए । गाउँ नजिकैको मुहानलाई अब व्यवस्थित रुपमा स्वास्थ्य चौकी र वस्तीमा पु¥याउनका लागि चाँडै पहल पनि थालिनेछ ।
स्वास्थ्य चौकीका निमित्त इन्चार्ज मोहन रावतले स्वास्थ्य चौकीका गतिविधि सुनाउँदै केही नयाँ कामहरुको सुरुवात गरेको जानकारी पनि दिए । स्वास्थ्य चौकीले अहिले स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आउने गर्भवति महिलाका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको रहेछ । रावतका अनुसार गर्भवति महिलाहरुलाई सुत्केरी हुनका लागि घरबाट स्वास्थ्य चौकी आउन र त्यहाँबाट घरैसम्म फर्किनका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । त्यसले गर्दा स्वास्थ्य चौकीसम्म आएर सुत्केरी हुने महिलाहरुको संख्या पनि दिनदिनै बढ्दै गएको छ ।
अनि स्वास्थ्य चौकीले सुत्केरी भएका महिलाहरुलाई घरैमा पुगेर नियमित नवजात शिशु र आमाको बारेमा जानकारी लिने स्वास्थ्य सल्लाह र चेक जाँचका लागि निशुल्क स्वास्थ्य स्वंय सेविकाको पनि व्यवस्था गरेको छ । उनीहरुले त्यहाँ पुगेर शिशु अनि आमाको स्वास्थ्य अवस्था र स्याहार सुसारको बारेमा बुझेर सरसल्लाह समेत दिन्छन् । सम्भवतः निशुल्क एम्बुलेन्स सेवा र यस्तो प्रसुती सेवा जिल्लामा अन्यत्र स्वास्थ्य चौकीहरुमा छैन । त्यसका लागि स्थानीयले पनि स्वास्थ्य चौकीलाई धेरै सरसहयोग गरिरहेका छन् ।
यस्तो अनुगमनको व्यवस्था जिल्ला रेडक्रस सोसाइटीले मिलाएको थियो । विभिन्न स्वास्थ्य केन्द्रहरु, विद्यालयहरुमा यस्ता सहयोग गर्दै आएको रेडक्रस दाङले हेकुलीको रावत गाउँमा खानेपानीको बोरिङ र ओभरहेड ट्याङ्की बनाएर घरघरमा चौविसै घण्टा पिउने पानीको व्यवस्था समेत गरिदिएको छ । त्यस्तै विद्यालयहरुमा स्वास्थ्य सरसफाइका लागि विभिन्न सहयोग तथा सहजीकरण पनि गर्दै आएको छ । धनौरी स्वास्थ्य चौकीमा रेडक्रसले प्रसुती भवन निर्माणका लागि सहयोग गरेको छ ।
त्यस्तै फोहोर व्यवस्थापन तथा स्वास्थ्य सम्बन्धि तालिमहरु, शिविरहरुमा प्राविधिक सहयोग सहजीकरण गर्दै आएको रेडक्रस दाङका विश्राम अधिकारीले जानकारी दिए । विभिन्न ठाउँमा गरिएको संयुक्त अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीलगायत सबै कार्यालयका प्रमुखहरुले आआफ्नो कार्यक्षेत्रमा पर्ने समस्याहरुका बारेमा जनताका प्रत्यक्ष गुनासो सुनेर कार्यान्वयनको प्रतिवद्धतासमेत गरेका थिए । राप्ती समाचार











