गोविन्द खड्का
घोराही, ७ मंसिर । कानै फुट्ला जस्तो कर्कश हर्न बजिरहेको थियो । घ्यारर्र पार्दा बसले ओकल्ने कालो धुवा सहितको धुलो फैलिन्थ्यो । त्यही“, तुलसीपुर चोकको करीव सय मिटर पश्चिमको ढ्याप्लीमा निर्मला बुढा (उन्मुख) संग भेट भयो । जसले दिनभरी त्यो धुलो, धुवा सहितको प्रदुशन उम्किन नसक्नेगरी झेल्नुपर्दछ ।
को हुन् उन्मुख ?
केहि दिन अघि सत्य निरुपन तथा मेलमिलाप आयोगमा निवेदन दिन पुग्दा स्थानिय शान्ति समिति घोराहीमा बुढा संग भेट भएको थियो । त्यसलाई पच्छ्याउ“दै ईन्सेक प्रतिनिधि जय नारायण पुन सहित पुगेका थियौ“ । अहिले ढ्याप्लीको साहुनि बनेकि निर्मला जनयुद्ध कालीन योद्धा उन्मुख हुन् । तिनलाई रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पहाडलाई मितेरी बनाएर चलेको सिज अभियान थाह छ । जनयुुद्धको शुरुवाद र स्कवायड हुदै जनमुक्ति सेनाको जन्मदाको भोगाई छ । त्यही प्रसव पिडा व्यहोरेका केहि पात्रहरुमा उन्मुखलाई उभ्यान कञ्जुसाई गर्नुहुन्न ।
त्यसबेला रुकुम रोल्पामा यातना पाएकाहरुको नाम लिनुपर्दा बुढाको अग्र पक्तिमा आउ“छ । त्यसवेलाका जानकारहरु भन्छन् गिरफ्तार पर्दा खेरीनै सुन्नेजतीलाई आकाश खसेजत्तिकै बाधा परेको थियो । गाउ“वस्ति भरी तिनलाई छोपेको हल्ला सनसनी फैलिएको थियो । भर्खर थालिएको जनयुद्धमा थोरैले त्यसरी यातना सहेका थिए । उनले यातना पाएको २०५४ माघ सम्म कमैले भोगेका थिए । त्यसैले यातनाको सन्त्रास सनसनी फैलिएको थियो । बा“च्छे भन्नेहरु थिएनन् भन्दा पनि हुन्छ । आफन्तहरु धेरैले अब भेट हुन्न होला भन्थे । पुलिसले लैजानुलाई कालले उठाए सरह मानिन्थ्यो ।
छोटो बसाईमा यातनाका दिन सम्झिने काम बढि भयो । उन्मुखका अनुसार राति मस्त निद्रामा भएको बेला कसैले ढोका खट्टटायो । सुस्तरी चाल सुन्दा अझ जोडले ढक् ढकाउन लाग्यो । ढोका खोल्नुस भन्नेले न उघारी धरै दिएन । भित्र पसेपछि थाह भयो हतियारधारी प्रहरी रहेछन् । तिनले उन्मुखलाई उठाए । हिड् भने । रातारात बाघमारे प्रहरी चौकीमा लगे । रोल्पाको पाछावाङ ५ आगरको घर बाट । मुर्छापर्ने यातना उनलाई माओवादिको विद्यार्थीमा काम गर्छ भन्ने रिपोर्ट रहेछ । नेपाल राष्टिय माध्यमिक विद्यालय चुनवाङ रुकुममा कक्षा दशमा अध्ययनरत थिईन । क्रान्तिकारी विद्यार्थी संगठनमा जोडिनु ठुलो अपराध मान्थ्यो राज्यले र उनलाई हतकडि लगाएर हिडाल्यो । भोलिपल्टै चुनवाङ तिरै पठायो । सायद उनका विरुद्ध सिकायत दिनेहरु चुनवाङमै थिए । यातना दिन उतै लगियो ।
त्यहा लगेपछि शुरु भए बुढाका पिडाका दिनहरु । शरीर भरी बज्रीन थाले लाठिहरु । मनपर्दी कुट्न थालियो किशोर अबस्थाको जिउमा । रुप र सुन्दरता कम थिएन । उम्दो बैस जोबनको जोस जा“गर थियो । त्यहि क्षमताको आ“कलन गरेर पुलिसले लाठि बर्षायो । हात पछाडी पारेर बा“धियो । खुट्टा बाट झुण्डाईयो निरालमा तुर्लूङ्गै । ‘कति लाठि भा“चिए भा“चिए’ पिडा आशुमा खुल्न नदिन मुन्टो आकाशतिर अलिकति उचालिन र थपिन ‘दुईतिन पटक फेन्ट भए“’ बोलि सकिदा पिडा खुल्यो । भररर आशु दुबै गाला हुदै झरे । ओढने बर्कोले मुख ढाकिन् । घुक्क घुक्क रुन थालिन् । वातावरण स्तब्ध भयो । प्रश्न सोध्ने ईन्सेक प्रतिनिधि पुन वाक्य फुटाल्न सकेनन् । केहि बेर ट्वाल्ल परेर हेरियो । अब कसरी सम्हाल्ने ? हुत्तु न तुत्तु बनायो ।
त्यसै बेला मुला किन्ने ग्राहक आए । तिनले बोलेपछि सरक्क आशु पुछिन् । पिडाम मन भित्रै कतै लुकाईन् । रोएका राता आ“खा, भित्र भित्रै भरीदै गरेका डब्डबास आशु भने प्रश्ट देखिन्थे ग्राहकले बुझे बुझेनन् । हामि मात्रैले सम्हाल्न सकिने थिएन । आफै सम्हालिन नसकेपछि हामि संग पनि चित्त बुझाउने के तागत ? ट्वाल्ल परेर हेर्ने भन्दा अरु गरिएन । ‘त्यो भन्दा त मारे हुन्थ्यो भन्ने लाग्थ्यो’ आशु पुछेर राता र डबक्क भरीएका आखा हामितिर हेर्दै भनिन्, ‘मानसीक यातनाको बयान गरी साध्य छैन’ ।
चुनवाङ बाट जिल्ला प्रहरी कार्यालय रुकुम मुसिकोट तिर लगियो । असल मान्छेहरुको लागि पनि करीव सात घण्टाको पैदल यात्रा गर्नुपर्छ । शरीर सुनिएको, खाना नखाएको, यातनाले थिलथिलो भएको बुढाको शरीरलाई घिसारेर करीव १५ घण्टा पछि हाजिर गराईयो । ‘दुबै हातका पाखुर दुईजना पुलिसले समातेर लतार्थे बाटोमा ।’ उनले भन्दै गईन् ‘खलंगा पुगेपछि एक महिना मानसिक यातना दियो ।’ बुढाका अनुसार त्यो सजाए पाउने अपराध के हो थाह थिएन । शारीरिक र मानसीक यातना पछि तारेखमा छोडियो । कालले निल्दै गर्दा ओकल्यो । पञ्जा बाट फुत्किएको शिकार त्यहि हाजीर हुन जाने कुरा हुदैन्थ्यो । गईनन् । त्यहा गएका धेरै फर्किदैन्थे त्यसैले बाच्ने ठुलो कुरा थियो । राज्य विरुद्ध बन्दुक र लाठि बोकि शसस्त्र युद्धमा होमिईन ।
किताव छोडि बन्दुक
त्यस पछि विद्यालय छोडेर बन्दुक बोक्ने वाद्यता शुरु भयो । तारेख छोडेपछि अपराधिकै लिष्टमा राखियो । उता माओवादिले सेना बनाउने अभ्यास स्वरुप स्क्वायट गठन गरेको थियो । त्यसैमा लागिन् । हातमा लाठि, काधमा बन्दुक, घाटिमा टर्चलाईछ, मालासरी मुन्टोमा तुम्लेट बेरिन् । दिनभरी सुत्ने, रातभरी हिड्ने । आवश्यकै परे जुनकीरी सरी कपडाले छोपेर लाईट बाल्ने जिवन शुरु भयो । कापि कलम किताव सबै त्यागियो । केवल देश र जनताको मुक्तिका लागि । मरे एउटा ज्यान जिते सुन्दर संसार भनेर निकै मिठो सपना थियो ।
जनताले तिम्रा सेना कहा“ छन ? भनेर भुमिगत भएका कार्यकर्तालाई सोध्थे । त्यसको जवाफ दिने उन्मुख लगाएत केहि थिए उनिहरु भन्थे ‘तिमि हामिहरु नै सेना बन्ने हो ।’ धेरैले पत्याउदैन्थे । तारा भएको डिड्रेस लाउने पेश्तोल बोक्ने भन्दै युवाहरुलाई उक्साउथे । दिउसो सुत्थे हिड्थे राति राति । त्यो पनि साहायक बाटा पच्छाएर । गाउलेले मसान, भुत स्याउरे हिड्छ भन्ने बाटा खोजेर । सुत्थे तर्साउने लुक्ने वडार खोजेर । त्यहि चलनले गाउ बस्तीमा भयाउने हुन्न भन्ने पुष्टि भयो । मसान घाटमा सुत्दा पनि केहि हुन्न भन्ने आटिला बचन सुनिन थाले । जसले दिन्छ उसैकोमा खाने हो । त्यसो त विष्टा परे, बोक्सी लागे, सबै कुरा वाहियात सावित भए । जसलाई कार्वाहि गरीन्छ त्यहि खाना खाने गर्न लागे बोक्सी भए किन बचाई भन्ने प्रश्न जाग्यो । रुढिग्रस्त समाज परिवर्तनमा उनिहरु लगाएत भुमिगत कार्यकर्ताको योगदान छ ।
के पाईयो ?
अहिले कानको कमजोरी छ । शरिर झम्किन्छ । हरेक मौसम परिवर्तनलाई तुरुन्तै पचाउन सक्दैन । असाध्यै जाडो चढ्दा, गर्मि बढ्दा, आकासमा बादल देखिदा तुरुन्तै परिवर्तन देखिन्छ । रुघा खोकि देखि शरीर गहुगो हुने, कतैको भागमा दर्द हुने लगाएतका समस्या देखिन्छन् । कति पय बेला थाहै नहुने ठाउमा दुख्छ । कसैले तिमिहरुले गयौ स्यावास पनि भन्दैन । जसले मानसीक उपचार गर्न सकोस् । अनि विछिप्त, व्यशोस, केहि गमिरहेजस्तो । मानसिक व्यस्त हो कि ? अनेकौ लक्ष्णहरु देखिन्छन् । ति सबै शारीरिक प्रतिकृयाले पिडाको उपलब्धी के प्रश्न जगाउछन् । त्यसको जवाफ चोकमा ढ्याप्ली थापेर गुजारा चलाएको भेटाउन सकिन्छ । त्यस बाहेक बैदेशिक रोजगारमा गएर हिंसा सहन नसकि बिचैमा फर्किएको पिडा । त्यहा“ पनि यातना दिन खोजेपछि पटक पटक देखिने मानसीक समस्या । हिन्दा हिन्दै कसैले धम्काईरहन्छ । मान्छे देखिन्न । तर कसैले भनिरहेको जस्तो कानले सुनाईरहन्छन् ।
उपाए के छ ?
रोजगार का लागि सिप । छोरीका लागि शिक्षा दिए हुन्थ्यो भन्ने लाग्छ । तर माग्न जाने कता थाहै छैन । टुक्रियका माओवादिहरुमा कस्को बन्ने भन्ने छ । उहिले पार्टि दुईवटा मात्रै हुन्छ । एउटा क्रान्तिकारी हामि, अर्को यथास्थिती वादि, पश्चगामि, प्रतिकृया वादि अरु सबै राजनीतिक दल भनिन्थ्यो । अहिले त्यो टुक्रिएका माओवादि भित्रै कसलाई भन्ने ? त्यो सब छोडेर ढ्याप्लीमा दैनिक तिनहजार सम्मको विक्री हुन्छ । कुनै बेला तरकारी सडेर जान्छ । फाईदाको हिसाव गर्दा गुजारा चलाउन मुश्किल छ । तर पनि आशा गर्ने बाहेक अरु उपाए छैन । संघ संस्था र सरकारले सिप दिएर सहयोग गरे हुन्थ्यो भन्ने लाग्छ । छोरीलाई पढाईदिए हुन्थ्यो भन्ने हुन्छ । उहिले जस्तो लड्न भिड्न सकिन्न । शरीर घाईते छ । रोजगारको लागि पढाई छैन । ठुलो व्यवसाय गरौ लगानी छैन । पिडा आफु भित्रै लुकाएर बाच्न परेको छ ।











