काठमाडौ, ४ मंसिर । सङ्घीय गठबन्धनका संयोजक एवम् सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तो गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराईए त्यसलाई कुनै हालतमा आफूहरुले नमान्ने बताएका छन् ।

upendra-yadav‘अहिले सरकारले ४ बुँदे संशोधनको प्रस्ताव तयार गरेको छ भन्ने हल्ला बाहिर आएको छ’, आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा गठबन्धनका संयोजक यादवले भने, ‘यदि यो कुरा साँचो हो भने हामी त्यसलाई कुनै हालतमा मान्दैनौं, यसले समस्याको समाधान हुँदैन् ।’

उनले आफूहरुले संशोधनको नाममा संशोधन मात्रै नखोजेको उल्लेख गर्दै संविधानमा भएका विभेदकारी प्रावधानहरुको अन्त्य हुनेगरि संशोधन चाहेको स्पष्ट पारे । साक्षात्कारमा यादवले वर्तमान सरकारले संविधान संशोधनबारे आन्दोलन पक्षसँग अहिलेसम्म कुनै सहमति नै नगरेको बताउँदै भने, ‘हामीसँग सहमति नगरीकन एकलौटी ढङ्गले संशोधन प्रस्ताव दर्ता भयो भने त्यसको कुनै अर्थ हुँदैन, त्यसले समस्याको समाधान वा निकास दिँदैन ।’

उनले सङ्घीय गठबन्धनसँग सहमतिको आधारमा संशोधन प्रस्ताव अघि बढाउनुपर्ने जिकिर गरे । अध्यक्ष यादवले अहिले संविधानमा उल्लेख भएबमोजिमको ७ प्रदेशले मुलुकको समस्या समाधान हुनै नसक्ने ठोकुवा गर्दै भने, ‘७ प्रदेशले समस्याको हल हुँदैन, त्यसैले पहिलाका राज्य पूर्नसंरचना आयोगले अघि सारेझैं १० प्लसको अवधारणमा जानुपर्छ ।’

उनले आयोगको प्रतिवेदन, मधेसी मोर्चासँग भएको सम्झौता र अन्तरिम संविधानमा उल्लेख भएबमोजिम तराई–मधेस–थरुहट यसमै रहनेगरि पूर्नसंरचना हुनुपर्नेमा जोड दिए ।

यादवले पहाडमा पहिचान र सार्मथ्यका आधारमा पुनर्संरचना गर्नुपर्ने धारणा सार्वजनिक गरे । त्यस्तै उनले आदिवासी, जनजातिहरूको समस्याहरू पनि एउटै प्याकेजमै हल गर्नुपर्ने जिकिर गरे । त्यस्तै यादवले ५ वटा विवादित जिल्लाहरुको समस्या हल गर्न आयोगलाई जिम्मा लगाउने काम पनि मान्य नहुने चेतावनी दिए ।