म्याग्दी, ३ मंसिर । जिल्लामा रहेको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा ८ करोडको लागतमा विभिन्न भवनका साथै बाटो निर्माण गरिएको छ ।
मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित गलेश्वरधाममा २०६७ साल पछि भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको रकम र तीर्थयात्रीले दिएको दानबाट सङ्कलित रकमबाट पुनः निर्माण गरिएको हो ।
सो रकमबाट गलेश्वरमा धर्मशाला, बाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायतका काम सम्पन्न भएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।
मन्दिर स्थापनादेखि ०६७ सालसम्म मूल मन्दिरमा भक्तजनले चढाएको सुनदेखि नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलवराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा, आसपासका क्षेत्रमा रहेका शालिग्रामसहित हिन्दू धर्मालम्बीले पूजाआजा गर्ने ठाउँमा चढाइएको भेटीमा पुजारीदेखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए ।
अहिलेसम्म भेटी, महायज्ञ र चन्दाबाट ८ करोडको पूर्वाधार थपिएको छ । गत साउन महिनामा मात्रै रु १३ लाख भेटी सङ्कलन भएको थियो । साउने सोमबार र शिवरात्रिका बेला लाखौँ भेटी सङ्कलन हुने गरेको छ । मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गर्दै कोषले मूल मन्दिरसहित वरपरका क्षेत्रमा सिसी क्यामेरा समेत जडान गरेको छ ।
कृष्णगण्डकीदेखि नौ रोपनी क्षेत्रफल चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा निर्मित मन्दिरभित्र विराजमान भएकाज्योतिर्लिङ्गेश्वर महादेव उत्पत्ति भएको धार्मिक विश्वास छ ।











