सिन्धुली, ३ मंसिर । पैसा कमाउन देश नै जानुपर्छ भन्ने होइन । गर्न सके आफ्नै वारीमा पैसा फलाउन सकिन्छ भन्ने गरे उदाहरण सिन्धुलीका किसानहरुले दिएका छन् ।
जुनारको राजधानी भनिने सिन्धुलीका व्यवसायीयले एकै सिजनमा ४ लाखसम्म कमाउने गरेका छन् । जुनार बिक्रीका लागि जिल्लाकै चर्चित खनियाँखर्कका व्यवसायीहरूले एक सिजनामा न्यूनतम ३ लाखदेखि अधिकतम ४ लाख रुपैयाँसम्म नाफा गर्ने गरेको बताएका छन्।
जुनारका लागि सिन्धुली र रामेछाप प्रमुख क्षेत्र हुन् । लामो समयदेखि जुनार व्यवसायमा संलग्न डेबिट लेङ्गाली दैनिक एक हजारदेखि १ हजार २ सय गोटा जुनार बिक्री हुने गरेको छ ।
अर्का व्यवसायी विराज शर्माले मंसिरदेखि माघसम्म जुनारको मुख्य सिजन भए पनि ग्राहकको मागका कारण यस वर्ष कात्तिकदेखि नै जुनार बजारमा आइसकेको र मागअनुसार उत्पादनले धानेमा चैतसम्म उपलब्ध हुने बताए ।
शर्मा फूल फुल्नुभन्दा एक साताअघि र फूल फुलिसकेपछिको एक सातासम्म चिसो भएमा फूल झर्दा दाना नलाग्ने र बलौटे माटोमा पनि दाता नलाग्ने भएकाले उत्पादन प्रभावित हुने बताउँछन् ।
किसान तथा व्यवसायीहरूका अनुसार यसवर्ष जुनार उत्पादन कम भएकाले यसको मूल्य पनि उच्च छ । गत वर्षहरूमा पुस÷माघमा किसानसँग प्रतिकिलो ५०/६० रुपैयाँमा खरिद गर्ने गरिएकोमा यस वर्ष भने प्रतिकिलो ७०/८० रुपैयाँ किसानलाई बगैंचामै दिने गरिएको लेङ्गालीले बताए ।
आफैं जुनारको खेती र बिक्री गर्दै आएका लेङ्गाली बगैंचामा राम्रोसँग हेरचाह भए एउटै बोटबाट एक सिजनमा ४ हजारसम्म दाना आउने बताउँछन् । “तर, यस वर्ष ५० प्रतिशतले उत्पादन घट्ने देखिएको छ,” उनले भने, “यसपटक एक हजार देखि १५ सय दाना मात्रै लागेको पाइन्छ ।”
