दोलखा, ३ मंसिर । कालिन्चोकमा केबुलकार निर्माणमा स्थानीयवासीहरुले विरोध जनाएका छन् । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा केबुलकार निर्माणको काम सुरु हुनैलाग्दा स्थानीयवासी र गु्ठीलाई कुनै जानकारी नदिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।
स्थानीयको विरोध भएपछि केवुलकार निर्माणमा कठिनाइ उत्पन्न भएको छ । साथै केवुलकार निर्माणले संरक्षित वन अतिक्रमण भएको भन्दै जिल्ला वन कार्यालय, दोलखाले पनि पत्र काटेको छ ।
जिल्ला वन कार्यालय, दोलखाका जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले स्थानीयवासीले केबुलकार निर्माणमा वन अतिक्रमण भएको निवेदन गरेपछि आफूले वन अतिक्रमण नगर्न र वन अतिक्रमण गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र लेखेको बताए ।
कालिन्चोकको कुरीबजारदेखि केबुलकार स्टेसनसम्म पुग्ने सडक निर्माणका लागि डोजरले काम सुरु गरेलगत्तै स्थानीय तहमा विवाद सुरु भएको हो । कालिन्चोक दर्शन प्रालिले केही दिनयता डोजर लगाएर सडक निर्माणको काम गरिरहेका बेला स्थानीयवासीले पाउने सेयर लगायतका सेवासुविधा प्रस्ट भएर मात्रै काम अघि बढाउनुपर्ने माग अघि सारेका छन् ।