एजेन्सी, २१ कार्तिक । इराकको सालाहुद्दिन प्रान्तमा भएको आज आइतवार भएको बम आक्रमणमा कम्तिमा पनि ४३ जना मारिएका छन् । बम आक्रमणसँगै गोली चलाइँदा चारजना इरानी तीर्थयात्री समेत मारिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

83e058a79fff0a2fffe07801808ebe05

वम आक्रमणपछि क्षतिग्रस्त एक तिर्थस्थल

आइतवार बिहानै तिकरिक सहरस्थित शिशिन क्षेत्रको एक पुलमा काम गरिरहेका मजदुरमाथि बम हमला हुँदा त्यहाँ कम्तिमा पनि १५ जना मारिए भने ३५ भन्दा धेरै घाइते भएका छन् ।

इराकको राजधानी बगदादबाट १२० किलोमिटर उत्तरस्थित एक धार्मिक स्थलमा गरिएको अर्को बम हमलामा पनि १२ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् ।

यो बम हमला इरानी तीर्थयात्रीहरुको गाडी रोकिएको पार्किङस्थल नजिकै भएको थियो । त्यही क्रममा इरानी नागरिक पनि मारिन पुगेका हुन् ।

त्यसैगरी आइतवार बिहानै इस्लामिक स्टेट (आईएस) आतंकवादी समूहका सदस्यहरुले तिकरितबाट ५० किलोमिटर उत्तरस्थित तुलुल अल बाज क्षेत्रमा एक आदिवासी नेताको घरमा पसेर गोली चलाउँदा १६ जना मारिएका छन् ।