काठमाडौँ, २१ कार्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैछ ।

14937059_356662951347567_164552792_nकात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । यसै वर्षदेखि सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका शशीकान्त सेठ्ठीले बताए ।

“षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवम् छठीमातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”–उनले भने । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीन पटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।