भरतराज शर्मा / तुलसीपुर २० कार्तिक । तुलसीपुर नगरपालिकाले बिनियोजन गर्ने बजेट पहुँचका आधारमा नभई आबश्यकता आधारमा हुनु पर्ने नगरबासीहरुले माग गरेका छन् । तुलसीपुर नगरपालीकाले आर्थिक वर्ष ०७२÷०७३ मा गरेको विकास निर्माण तथा कार्यसम्पादन सम्वन्धी सामाजिक परिक्षण कार्यक्रमका सहभागिहरुले त्यस्तो माग गरेका हुन् ।
उनिहरुले नगरको विकास निर्माण शहर केन्द्रित मात्रै बनेको गुनासो गरेका थिए । नगरपालिकाले पुराना वस्तीमा सडक सुधार गर्न नसकेको तर भर्खरै पलटिङ् गरिएका जग्गामा सडक निर्माणमा ठुलो वजेट विनियोजन गर्ने गरेको उनीहरुको गुनासो थियो । नगरबासीहरुले ग्रामिण सडक सुधारमा पनि ध्यान दिन नगरपालिकालाई सुझाब दिएका थिए ।
कार्यक्रममा नगरवासी रुद्र वलिले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणको कामलाई फागुनमै सक्नेगरी गराउनु पर्ने बताएका थिए । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणमा अनियमितता वढने ,स्टिमेट अनुसारको काम नहुने भन्दै अव विकास निर्माणको काम फागुन मसान्तमै सक्ने गरी काम अगाडि बढाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा नगर महिला सञ्जालकी संयोजक यमुना शाहले लक्षित विकास वजेट भौतिक निर्माणमा नभई लक्षित वर्गकै आर्थिक अवस्था सुधारमा खर्चगर्नुपर्ने माग गरेकी छिन् ।
कार्यालयको राजश्व शाखामा आबश्यक जनशक्ति नहुँदा कर तिर्न घण्टौ लाइनमा वस्नुपर्ने नगरवासीको समस्या समाधानका लागि ध्यान दिन आग्रह शाहले आग्रह गरिन् । नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको सामाजिक परिक्षण तथा छलफल कार्यक्रममा विज्ञ टोलिका सन्तोष सुवेदी र सुदर्शन रिजालले नगरपालीकाले आर्थिक वर्ष २०७२/०७३ मा भए गरेका कामका वारेमा जानकारी गराएका थिए । नगरपालीकाको विकास निर्माणका साथै सेवा प्रवाहमा सहजता ल्याउन अपनाउनु पर्ने नितिकावारेमा सहभागिहरु बाट सुझाब पनि लिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका भिमप्रकाश भण्डारी, नेकपा एमालेका कृष्ण भुसाल, नेकपा माओवादी केन्द्रका शेसुराम भण्डारी, अमृतपुर खानेपानी संस्थाका सचिव मेघराज पाण्डे, नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्युसिपिसिका अध्यक्ष नवराज लामिछाने , उपभोक्ता समितिका अध्यक्ष मेघराज घिमिरे, पवित्रा केसी हरिकला मियाँ लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।
