काठमाडौं १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारी मार्गका सडकहरु खाली गराइएको छ । सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको प्रहरी अधिकारीहरुले बताएका छन् । प्रहरीले राष्ट्रपतिको सवारी मार्गमा पैदलयात्रुलाई समेत हिँड्न रोक लगाएको छ । सडक आसपासका सटरहरुपनि खाली गराइएको छ । मुखर्जी दिउँसो १२ः ३० बजे मुखर्जी विमानस्थलमा ओर्लने कार्यक्रम रहेको छ ।

nepal-airlines-crashयसैबीच दिउँसो सवा १२ बजे देखि एक बजेसम्म विमानस्थल बन्द हुने भएको छ । मुखर्जी बुधबार तीन दिवसिय नेपाल भ्रमणको क्रममा काठमाडौं आउन लागेका हुन् । उनी मध्यान्ह १२ बजे विमानस्थलमा ओर्लने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् । त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् । उनका सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् ।

राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उहाँसँग शिष्टाचार भेट गर्नेछन् । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन् । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।