तुलसीपुर १२ कात्तिक । स्थानीय प्रशासनले रातको १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । शान्ति सुरक्षाको कारण देखाउँदै रातको दश बजेपछि देउसी भैलो नखेल्न नखेलाउन आग्रह गरिएको छ ।
दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बिहीबार एक अपिल जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गरी सम्पूर्ण जिल्लावासीमा आग्रह गरेका हुन । उनले जिल्लाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई भयमुक्त वातावरणमा चाडपर्व मनाउने वातावरणको सिर्जना गर्नु प्रहरीको मुख्य दायित्व भएकोले त्यसमा सहयोग गर्न एसपी सिंहले सबैमा आग्रह गरेका छन् । एसपी सिंहले बिष्फोटक पदार्थ जन्य बस्तुहरु अर्थात पटका नपट्काउन आग्रह पनि गरेका छन् ।
यसैबीच एसपी सिंहले हिन्दुहरुको दोस्रो ठूलो चाड शुभदीपावली र छठपर्वको अवसरमा जिल्लावासीमा शुभकामना पनि व्यक्त गरेका छन् ।
