काठमाडौं, ७ कार्तिक । सत्तारुड दल नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्ने भएको छ।
आज आइतबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको केन्द्रका नेता एवं सांसद अग्निप्रसाद सापकोटाले जानकारी दिए।
वैठकले आफ्नो सबै सांसदहरुलाई महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न समेत निर्देशन दिएको सापकोटाले बताए। बैठकमा अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको कार्कीविरुद्धको महाअभियोग प्रस्तावका पक्षमा उभिनु पर्ने भन्दै सबै सांसदलाई पक्षमा मतदान गर्न निर्देशन दिएका थिए।
अख्तियार महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल हुने
दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल हुने भएको छ।
आज बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मंगलबार दिउँसो ३ बजेका लागि समय निर्धारण गरेको हो ।
संसद बैठकको सुरुमै सभामुख घर्तीले कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएको सूचना पढेर सुनाएकी थिइन्। कार्कीविरुद्ध नेकपा माओवादी केन्द्र र एमालेका एक सय ५७ सांसदले गत बुधवार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।
