काठमाडौं १ कार्तिक । गणतन्त्र नेपालका प्रथम र दोस्रो राष्ट्रपति आइतबारदेखि औपचारिक रुपमा नाता सम्बन्ध जोडिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवबीच शीतलनिवासमा आइतबार टीकाटालो भएपछि मधेस र पहाडका यी दुई परिवारको नाता गाँसिएको हो ।
बुढानीलकण्ठ स्कूल पढ्दादेखिकै साथी रहेका निशा र अभिशेषबीच करीव ७ वर्षदेखि प्रेम सम्बन्ध रहेको पारिवारिक स्रोतले जनाएको छ । अभिशेषकी आमा किरण यादव महोत्तरी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी सांसद छिन् । किरण डा. रामवरण यादवकी भतिजी हुन् ।
टीकाटालो अर्थात इंगेजमेन्ट समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यका साथै दुई परिवारका नजिकका नातेदारमात्रै सहभागी थिए । तर, पार्टीका अन्य नेतालाई डाकिएको थिएन । वर पक्षबाट आमाबाबु बाहेक काका चन्द्रमोहन यादव सहभागी थिए । उनी कांग्रेस सांसद तथा रामवरण यादवका छोरा हुन् । राष्ट्रपतिको स्वकीय सचिवालयका सबै सदस्यहरुलाई टीकाटालोमा निम्ता दिइएको थियो ।
