भक्तपुर १२ असोज । सामुदायिक विद्यालयमा लामो समयदेखि न्यून तलबमा कार्यरत विद्यालय कर्मचारीले चाडपर्व खर्च पाउने भएका छन् । विद्यालय कर्मचारीका रुपमा कार्यरत पाले, पियन, लेखापाल, माली, लगायतका ३३ हजार कर्मचारीले यसै वर्षबाट चाडपर्व खर्च शिर्षकमा रकम पाउने भएका हुन् ।
शिक्षा विभागले चालू आर्थिक वर्ष २०७३/७४ का लागि विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत आधारभूत र माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई अनुदान दिने निर्णय गरेका हो । देशभरका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिँदै विद्यालय कर्मचारीलाई विभागले भनेअनुसार खर्च दिन परिपत्र गरेको छ ।
जस अनुसार आधारभूत तह अन्तर्गत कक्षा १–२ चलेका विद्यालयमा कार्यरत कर्मचारीले एकमुष्ट २६ हजार रुपैयाँ, कक्षा १–३ सम्म चलेको विद्यालयका कर्मचारीले ४ हजार रुपैयाँका दरले ५२ हजार, कक्षा १–५ सम्म चलेको विद्यालयका कर्मचारले मासिक ४ हजार ५ सय रुपैयाँका दरले ५८ हजार ५ सय, कक्षा १–८ सम्म चलेको विद्यालयका कर्मचारीले मासिक ७ हजार ५ सय रुपैयाँका दरले ९७ हजार ५ सय र कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको विद्यालयमा कार्यरत कर्मचारीले मासिक ७ हजार ५ सयको दरले ९७ हजार पाँचसय रुपैया तथा सोही तहमा रहेका लेखा सहायक वा प्रशासन सहायकले मासिक ११ हजार ५ सयका दरले १ लाख ४९ हजार ५ सय रुपैयाँ अनुदान दिन निर्देशन दिएको छ ।।
