पाँचथर, ११ असोज । मविभिन्न जिल्लामा साना तथा ठूला जलविद्युत आयोजन निर्माण भएरहेको वेला पाँचथरमा पनि जलविद्युतका आयोजनाहरु तीब्र गतिमा भइरहेका छन् । हाल पाँचथरमा करिब एक सय मेगावाट विद्युत् उत्पादन गर्ने चार आयोजनाको काम धमाधम भइरहेको छ ।
हेवा खोला र काबेली नदीमा बन्न लागेका यी आयोजनामा १७ अर्ब ६ करोड रुपैयाँ लगानी हुन लागेको प्रवद्र्धक कम्पनीहरूले जनाएका छन् ।पाँचथर पावर कम्पनीले निर्माण गरिरहेको ‘हेवा ए’ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । दुई अर्ब ५० करोड लागतको यो आयोजनाबाट १४।९ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
आयोजना प्रमुख पुष्पज्योती ढुंगानाका अनुसार २०६९ मंसिरबाट निर्माण सुरु भएको यो आयोजनाले परीक्षण उत्पादन सुरु गरिसकेको छ । “आयोजनाको सम्पूर्ण काम सकिएकाले अहिले परीक्षण उत्पादन गरिरहेका छौं । निर्धारित समयमा काम सम्पन्न नहुँदा अनुमानभन्दा ३६ करोड लागत बढेको छ,” उनले भने ।
माउन्टेन हाइड्रो प्रालिले पनि हेवा खोलामै २१।६ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तीन अर्ब ६६ करोडको लागतमा यो आयोजना बन्न लागेको हो । आयोजनाको ६० प्रतिशत काम सकिएको आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए । अबको ८ महिनामा काम सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।
पाँचथर र ताप्लेजुङको सीमा हुँदै बग्ने काबेली नदीमा पनि दुई ठूला जलविद्युत् आयोजनाको काम भइरहेको छ । ३६.६ मेगावाट क्षमताको काबेली ए आयोजना निर्माणको जिम्मा तीनवटा चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । १० अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना मेची अञ्चलकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।
झिझ्याङ, टीडब्लु र सीडब्लु नामक चिनियाँ कम्पनीले आयोजना निर्माण गर्ने जिम्मा पाएका छन् । “आयोजना सञ्चालनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ,” श्रेष्ठले भने “दसैंलगत्तै मेकानिकल काम पनि सुरु हुन्छ ।” पाँचथरको अमरपुर, पञ्चमी ताप्लेजुङको थेचम्बु र नाङखोल्याङ क्षेत्रमा निर्माण हुने यो आयोजनाको काम सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
काबेली नदीबाटै २५ मेगावाट क्षमताको काबेली बी जलविद्युत् आयोजनाको निर्माण कार्य पनि भइरहेको छ । एक अर्ब ५० करोडको लगानीमा अरुण काबेली हाइड्रोपावर कम्पनीले यो आयोजनाको निर्माण सुरु गरेको छ।