काठमाडौं, २ असोज । नयाँ शक्ति पार्टी नेपालले आइतबार विभिन्न मागहरु राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हक, अधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट सहसंयोजक रामचन्द्र झा र दुर्गा सोबको नेतृत्वमा गएको टोलीले कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा मधेसी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले संबोधन गर्न नसकेको जनाउँदै ती सबै समुदायको जायज मागको सम्बोधन गरी संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने ज्ञापन पत्रमा बताएको छ ।
यस्तै देशको जल्दोबल्दो समस्याहरुलाई राजनीतिक पक्ष, आर्थिक सामाजिक पक्ष, भूकम्प पीडितलाई राहत तथा पुननिर्माण–नवनिर्माण, विकास–निर्माणतर्फ, राष्ट्रियता सम्बन्धमा, शान्तिप्रक्रियासँग सम्बन्धित र समसामयिक सवालहरु अन्तर्गत रहेर ज्ञापन पत्र बुझाएको बताइएको छ ।
