भीष्म थापा
शुक्रबार सामाजिक सञ्जालमा सीता दाहालको चर्चा निकै चुलियो । आलोचनाको व्यापार गर्न पसल खोलेर बसेका एकथरीले सीता दाहालको पहिरनदेखि हाउभाउको ठेक्का लिएका थिए । उनीहरुका लागि सीता दाहाल कमाउको पात्र बनेकी थिइन र उनीहरुका शब्दले सीता दाहाललाई शिष्टाचार सिकाइरहेका थिए । मानौं, उनीहरु कुनै अद्वितीय लोकबाट आएका हुन र त्यस्तै महिलाहरुको कोखबाट जन्मेका हुन, जसले जन्मिनेबेला नै ‘हेलो”, ‘हाई’ भन्दै गाला जोड्न सिकेका हुन्छन् ।

प्रसंग थियो भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसँगै उभिएर तस्वीर लिएर उभिएको बेला सीता दाहाल हात बाँधेर बसेको तस्वीरको । सीता दाहाल मोदी छेऊमा उभिएकी थिइन हात बाँधेर । मोदी र प्रचण्डले तस्वीर लिइरहेका थिए । सीता दाहाल मौन देखिन्थिन् ।
यो तस्वीर सार्वजनिक भएपछि एकथरीले यसलाई प्रचण्डविरुद्धको अस्त्र बनाउन खोजे । उनीहरुले ‘सीता किन त्यसरी उभिइन रु” ‘सीतालाई शिष्टाचार पनि आउँदैन रु’ ‘सीता दाहाल मोदीको छेऊमा उभिनु गलत हो’ जस्ता प्रचार शुरु गरे । प्रचारको सिलसिलामा यतिमै रोकिएन, उनीहरुले सीता दाहालको वैयक्तिक जीवनमा समेत प्रहार गरे ।
सीता दाहाल मोदीसँग उभिनुलाई नैतिकतासँग जोडे उनीहरुले । एकजना स्याङ्जाको व्यक्ति एन।पी स्याङ्जालीले त तस्वीरमा नै अत्यन्तै भद्दा कमेन्ट समेत लेखेर तस्वीर प्रचार गरेको देखियो ।
यी सबै कमेन्टहरुको सार एउटै थियो– सीता दाहालले मर्यादा जानिन्, उनले शिष्टाचार जानिनन् । यसको भित्री आशय थियो– सीता दाहाल गँवार हुन, सीता दाहाल पाखे हुन ।

यो छूद्रताको चर्चा चल्नु आवश्यक नै थिएन । र, पनि चल्यो । एकथरी जसलाई प्रचण्डको जुंगाको रौं कतिखेर हल्लिएला र लेखम्ला भन्ने परको हुन्छ, उनीहरुले यसलाई उछाले । तर आदरणीय छूद्रता बोकेका मनुवाहरु, एकजना महिलाका बारेमा तपाईहरुलाई यसरी टिप्पणी गर्ने छूट कसले दियो रु सीता दाहाल प्रधानमन्त्री पत्नी हुन, के प्रधानमन्त्रीले यूरोपियनहरुको जस्तो संस्कार भएकी महिलासँग मात्रै बिहा गर्नुपर्ने हो ?
आलोचनाको पसल थापेर बसेकाहरु, तपाईहरु कस्तो आमाको कोखबाट जन्मिनु भएको हो ? यदि तपाईका आमा दिदीहरु सीता दाहालको ठाउँमा भएको भए उनीबाट तपाईले कस्तो अपेक्षा राख्नुहुन्थ्यो ?
सीताको व्यवहारले देशकै शीर निहुरिएको ठान्नेहरु हो, तपाईहरुले शिष्टाचारको तालिम केन्द्र खोलिदिएको भए एकजना आम महिला प्रधानमन्त्री भएर राजकीय भ्रमणमा जानु अघि तालिम लिन आउँथिन् कि ?
त्यसो भए त महाशयहरु, भारतीय प्रधानमन्त्री लाल बहादुर शास्त्रीले संयुक्त राष्ट्र संघमा हिन्दीमा बोल्दा भारतीय जनताले त्यसलाई लाजको विषय बनाउनुपर्ने थियो, हैन र रु धन्न उनीहरुले त्यसलाई गर्वको विषय बनाउँछन् । गत वर्ष एकजना मन्त्रीको अंग्रेजीलाई लिएर समेत यिनै छूद्रहरुले चर्चाको विषय बनाए । हिजोका दिनमा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुँदा उनकी श्रीमतीलाई समेत यसरी नै आलोचना गरिएको थियो ।
छूद्रताको व्यापार गर्नेहरु हो, आम नेपाली महिलाको प्रतिनिधित्व गर्ने सीता दाहाललाई संस्कार सिकाउनुपर्ने हो या तपाईहरुको यो कुरुप पराधीन मानसिकताको उपचार गर्नुपर्ने हो ?
शुक्रबारका चर्चाहरु सबै पराधिन मानसिकताका उपज मात्रै हुन । यसो गरे श्रेष्ठ भइने, यसो गरे उच्च भइने, यसो गरे लाज हुने, यसो गरे अपमान हुने रु यी संस्कारका मापदण्ड कसले बनाएका हुन ?
काठमाडौंमा पहिलोपटक आएको बेला ट्याक्सीमा कोठामा आइयो । सडकमा ट्याक्सीले सामान झारिदियो । मैले सामान बोकेर लैजान खोजे, अनि मेरो साथीले भन्यो– कस्तो पाखे नै छस् यार, लाज हुन्छ के, पर्खि, म मान्छे खोज्छु । मानौं कि आफ्नो सामान आफैले बोक्नु सहरको संस्कृति विरुद्ध हुन्छ रे ।
हामी ग्यासको सिलिण्डर बोक्न समेत लाज मान्छौं, आफ्नो सामान्य काम गर्न पनि लाज मान्छौं । कतिपयले त आफ्नो भाषा बोल्न समेत लाज मान्छन् । कतिले आफू दलित भएको बताउन लाज मान्छन् । यो के मानसिकता हो रु यी श्रेष्ठताका मापदण्ड कसले बनाएका हुन ?
यूरोपियनहरुले नै सिकाए यो पराधिन मानसिकता । साम्राज्यवादले सिकायो हामीलाई यस्तो । तर उनीहरु आफै के गर्छन् रु एकपटक युरोपतिर आँखा लगाउँदा स्पष्ट हुन्छ । यूरोपमा अंग्रेजी बोल्ने अल्पमतमा हुन्छन् । उनीहरुलाई आउँछ तर बोल्दैनन् ।
बरु स्पेनिश, फ्रेन्च, डच बोल्छन् उनीहरु । पूर्वी एशियाली देशका नेताहरु यस्ता कुटनीतिक कार्यक्रममा जाँदा दोभाषे लिएर जान्छन् । उनीहरु आफ्नो देशको भाषा बोल्छन् । अनि, हामी अंग्रेजीमा नबोले लाज हुन्छ भन्ने मानसिकतामा बाँच्छौं । यही मानसिकताले नै सीता दाहालमाथि प्रहार भएको हो ।
सीता दाहाल एउटा सामान्य महिला हुन । जीवनको संयोगले उनी प्रधानमन्त्रीकी पत्नी बनिन् । तर उनलाई प्रधानमन्त्रीकी पत्नी हुनु र नहुनुमा कुनै फरक देखिन्न । उनको हावभाव, पहिरन, व्यवहार सबै हेर्दौ उनले प्रधानमन्त्री पत्नी हुनुको कुनै दम्भ देखाएकी छैनन् ।
मानौं, उनका लागि प्रचण्ड मात्र श्रीमान हुन, अरु केही होइनन् । यो कुरा सकारात्मक हो कि होइन रु प्रधानमन्त्री पत्नी भनेर धाक धक्कु लगाउने, शान पेल्ने, राज्यको ढुकुटी दोहन गर्नतिर लाग्ने, आफ्ना भाइभतिजाको लागि अनुचित काम गर्दै हिँडने काम त कम्तीमा उनले गरेकी छैनन् । उनी हिजो जनयुद्धकालभरी प्रचण्डलाई साथ दिएर हिँडिन् ।
अहिले शान्तिकालमा पनि उनी प्रचण्डसँगै छिन् । प्रचण्डको जीवनमा आउने उतारचढावसँग उनले आफूलाई परिवर्तन गरेकी छैनन् । यो कुरालाई हेर्ने कि नहेर्ने ?
सीता मोदीको छेऊमा उभिनुलाई कतिपयले संस्कारको दृष्टिले हेरे । कतिपयले अश्लील र भद्दा कमेन्टसमेत लेखे । संसारभरीका कुटनीतिक कार्यक्रमका तस्वीर हेर्ने कि रु मिशेल ओबामादेखि अन्य कैयन् प्रथम महिलाहरु कहाँ उभिएका छन रु अनि यो कहाँ उभिने भन्ने कुरा सिकाउने हामी को रु सीता दाहाल कहाँ उभिन्छिन्, के खान्छिन्, के लगाउँछिन् भनेर ठेक्का लिने हामी को ?
अनर्थक कुतर्क र चरित्र हत्या गर्नेहरुले अहिले सीता दाहालमाथि खनिनु समग्र नेपाली आम महिलामाथिको अपमान हो । यो चरित्र हत्या हो । यसको प्रतिरोध गर्नु जरुरी छ । पात्र सीता हुन या जो कोही हुन, यो विशुद्ध पराधीन मानसिकताबाट उब्जिएको छुद्रता मात्रै हो । विशुद्ध छूद्रता ।
एभरेष्ट दैनिकबाट











